अर्थमन्त्री विष्णु पौडेलले आन्दोलनरत शिक्षकहरूको समस्या सरकारले वार्ता मार्फत नै टुङ्ग्याउने बताएका छन्।
बुधवार अर्थ समितिमा आगामी आ।व। को बजेट सम्बन्धमा अर्थ मन्त्रालय र योजना आयोगसँग भएको छलफलमा बोल्दै उनले शिक्षकहरूको समस्याको समाधानमा सरकार सकारात्मक रहेको भन्दै शिक्षकहरू र सरकारबीचमा वार्ताको माध्यमबाट नै समस्याहरू टुङ्गो लगाउने बताएका हुन्।
उनले भने, ‘शिक्षकहरू आन्दोलनमा आउनुभएको छ। सरकारले उहाँहरूलाई सम्मान पूर्व सम्बोधन गर्दै आएको छ। सरकारको आग्रह के हो भने यो सरकारले शिक्षकका अथवा कुनै पनि समुदायको समस्याहरू सुन्छ। सामर्थ्यको सीमाभित्र रहेर समाधान गर्छ। त्यसैले ज्ञापन पत्र मागपत्रको माध्यमबाट पनि समाधान गर्न सकिन्थ्यो। तर उहाँहरू आन्दोलनमा आउनुभयो र सरकारले वार्तामा आउनुहोस् भनेर जोड दियो। नआएपछि अनौपचारिक रूपमा शिक्षा मन्त्रालयले कसरी समाधान गर्ने भनेर छलफल पनि गर्यो। सरकारले माग पूरा गर्छ उहाँहरूले आन्दोलन फिर्ता लिने र विधेयक चालु अधिवेशनमा प्रस्तुत गर्ने र टुङ्ग्याउने ढङ्गले जाऊ भन्ने हिसाबले कुरा भएको हो। सरकार सकारात्मक समाधानको पक्षमा नै छ। शिक्षकहरूको समस्या वार्ताको माध्यमबाट नै टुङगीन्छ।’
त्यस्तै, बैठकमा पूर्व अर्थमन्त्री वर्षमान पुनले जनताको आकाङ्क्षा र छिमेकी मुलुकको विकासलाई हेर्दा अर्थतन्त्र खस्किँदो रहेको बताए। जसको कारणले अर्थ मन्त्रालय र सरकारलाई थप चुनौती थपेको उनको भनाई छ।