सोलुखुम्बुस्थित अमादब्लम हिमाल आरोहण गरी फर्कने क्रममा एक अस्ट्रेलियन आरोहीको मृत्यु भएको छ।
पर्यटन विभागका निर्देशक हिमाल गौतमका अनुसार स्नो होराइजन ट्रेक्स एन्ड एक्सपिडिसन प्रालिबाट आरोहणमा गएका मार्टिन हर्नेगरको हिमाल आरोहण सम्पन्न गरी फर्कने क्रममा ज्यान गएको हो। उनी ६४ वर्षका थिए।
उनले वसन्त ऋतुमा अमादब्लम आरोहण गर्न २५ चैत २०८१ मा विभागबाट अनुमति लिएका थिए। १३ वैशाखमा सफल आरोहण गरी फर्कने क्रममा उनी सम्पर्कविहीन भएका थिए। सोही दिन उनलाई अमादब्लम हिमालको फेदमा मृत अवस्थामा फेला पारिएको थियो।
त्यसपछि विभागले उनको शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौं पठाएको थियो।