जनकपुर नारी विकास केन्द्रले काठमाडौँको बिशालनगरमा मिथिला पेन्टिङ गरिरहेका छन्।
बिहीबार मजदुर दिवसको दिनमा पनि उनीहरूले बिशालनरगमा विभिन्न किसिमका कलात्मक मिथिला पेन्टिङ गरिरहेका हुन्। 
गत सोमबारदेखि स्वीस एम्बेसीको लगानीमा आफूहरूलाई काठमाडौँको बिशालनगरमा पेन्टिङका लागि अवसर दिएको महिला कलाकार पारो दासले जानकारी दिइन्। 
उनले भनिन्,‘सोमबारदेखि हामी यहाँ पेन्टिङको लागि आएका हौ। हामीलाई स्वीस एम्बेसीले सहयोग गरेको छ।’
त्यस्तै, उनले मिथिला पेन्टिङ पूरै नेपालको धरोहर सम्पत्ति भएको बताइन्। यसअघि पनि आफूहरूले काठमाडौँ धेरै पेन्टिङ गरिसकेको उनले जानकारी दिइन्।  
उनले भनिन्,‘पेन्टिङ मिथिलाको सम्पत्ति हो। मिथिलाको मात्र होइन पूरै नेपालको धरोहर सम्पत्ति पनि हो। काठमाडौँ पहिला पनि धेरै पेन्टिङ गरेको थियौँ।’ 
त्यस्तै तीन दशकदेखि पेन्टिङ गर्दै आइरहेकी महिला मिथिला मण्डलले महिलाले पनि पुरुषले झैँ सबै काम गर्न सक्छन् भन्ने कुरा पेन्टिङमार्फत उतार्ने प्रयत्न गरेको बताइन्। 
उनले भनिन्,‘म ३०–३२ वर्षदेखि यो काम गर्दै आइरहेको छु। अब कम्प्युटर चलाउनेदेखि सबै काम गर्न सक्छ भन्ने कुरा पेन्टिङमार्फत उतार्ने प्रयत्न गरेको छु। पुरुष जस्तै महिलाले पनि काम गर्न सक्छ भन्ने देखाउँछौँ।’ 
केन्द्रमा ३२ जना महिलाहरू आबद्ध रहेका छन्। उनीहरूले केन्द्रमार्फत विभिन्न ठाउँमा गएर मिथिला पेन्टिङको काम गर्दै आइरहेका छन्।