नेपाल बास्केटबल सङ्घ (नेवा) को आयोजनामा हुने हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) खेल तालिका सार्वजनिक भएको छ।
यही वैशाख २० गते देखि सुरु हुने लिगको बुधवार खेल तालिका सार्वजनिक भएको छ।
सार्वजनिक तालिका अनुसार लिगको उद्घाटन खेलमा शनिवार कीर्तिपुर र सामाखुसी युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ। पहिलो दिन शनिवारै हाउण्ड्स एकेडेमी र रोएल्सबीच पनि प्रतिस्पर्धा हुनेछ।
यस्तै वैशाख २१ गते आइतबार टाइम्स बास्केटबल क्लब र गोल्डेनगेट इन्टरनेसनल कलेजबीच हुनेछ।
हिमालयन जाभासँगको सहकार्यमा हुने लिगमा ६ टिमको सहभागिता रहनेछ। विकेण्डमा खेलहरू आयोजना गर्ने योजना अनुसार यो बास्केटबल लिग हुन लागेको हो।
सुरुमा शनिवार र आइतबार मात्रै खेल गर्ने तयारी रहेपनि वर्षाको मौसम र लामो समय लाग्ने भएकोले थप दुई दिन मङ्गलवार र बुधवार पनि खेल गर्न लागिएको आयोजक नेबाका अध्यक्ष भिमसिंह गुरुङले जानकारी दिए।
६ साता चल्ने बास्केटबल लिगमा पाँच साता लिग चरणका खेलहरू हुनेछ। हरेक साता कूल ६ खेल हुनेछ भने हरेक साता एक टिमले दुई–दुई खेल खेल्नेछन्
पहिलो साता मङ्गलवार हाउण्ड्स र टाइम्स तथा रोएल्स र गोल्डेनगेटबीच खेल हुनेछ भने बुधवार सामाखुसी र कीर्तिपुरबीच प्रतिस्पर्धा हुनेछ।
दुई खेल हुने दिनमा पहिलो खेल दिउँसो ४ बजे र दोस्रो खेल बेलुका ७ बजे सुरु हुनेछ। यस्तै एक खेल हुने दिन साँझ ७ बजे मात्र खेल हुनेछ।
लिगका खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् हातमा रहेको आउटडोर कोर्टमा खेलाउने तयारी छ।
प्रतियोगितामा टाइम्स क्लब, हाउण्ड्स एकेडेमी, गोल्डेनगेट इन्टरनेसनल क्लब, रोएल्स, कीर्तिपुर बास्केटबल क्लब र सामाखुसी युवा क्लबले प्रतिस्पर्धा गर्नेछन्।
डबल राउण्ड रोविन प्रणालीका आधारमा हुने लिगमा ३० खेल हुनेछ। त्यसपछि शीर्ष दुईमा रहने टिमबीच फाइनल खेल हुनेछ। फाइनलमा भने दुई खेल हुनेछ।