गृहमन्त्री रमेश लेखकले सङ्घीय निजामती सम्बन्धी कानुन चाँडै निर्माण हुने बताएका छन्।
आइतबार बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भएको सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० का सम्बन्धमा समितिको अन्तिम मस्यौदा प्रतिवेदन माथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्।
मन्त्री लेखकले कानुन निर्माणमा ढिला गरेर भएपनि राम्रो काम गरिरहेको भन्दै त्यसकारण उत्साहित हुनुपर्ने धारणा राखे।
उनले भने,‘सङ्घीय निजामती सम्बन्धी कानुन धेरै ढिला गरेर भएपनि अब हामी छलफलको अन्तिम चरणमा छौँ। त्यसैले म के आग्रह गर्न चाहन्छु भने स्थितिमा निराश हुनुपर्ने अवस्था छैन।’
उनले विधेयकहरू सहमतिमा टुङ्ग्याउनु उचित हुने भन्दै सङ्घीय निजामती सम्बन्धी विधेयक पनि सहमतिमा नै टुङ्गो लाग्ने विश्वास व्यक्त गरे।
त्यस्तै समिति सभापति रामहरि खतिवडाले समितिको अर्को बैठकबाट जसरी पनि निजामती विधेयक संसदमा पेस गर्ने गरी तयारी गर्नुपर्ने बताए। उनले राज्य समितिलाई कुनै राजनीति गन्ध नआउने समितिको रूपमा विकास गर्नुपर्ने धारणा व्यक्त गरे।
उनले भने,‘समितिको अर्को बैठकबाट जसरी पनि निजामती विधेयक संसदमा पेस गर्ने गरी तयारी गर्नुपर्छ। यो समिति राजनीति गन्ध नआउने समितिको रूपमा विकास गरौँ भन्ने हामी सबैको चाहना छ। यहाँ जुन पार्टीको प्रतिनिधि गर्ने भएपनि समिति हामी सबैको हो भन्ने किसिमबाट जाऔँ।’