किराँत समुदायको मुख्य पर्व स्याँदर पिदार मनाउन रामेछापको उमाकुण्ड गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ।
किराँत लगायत अन्य समुदायले मनाउने स्याँदर पिदार अर्थात् उँभौली पर्व मनाउन वैशाख ३० र ३१ गते सार्वजनिक बिदा दिइएको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितबहादुर श्रेष्ठले आइतबार एक सूचना प्रकाशन गरी उमाकुण्ड गाउँपालिकामा किराँत लगायत अन्य समुदायले मनाउने उँभौली पर्व (स्याँदर पिदार) को अवसरमा वैशाख ३० र ३१ गते दुई दिन स्थानीय पर्व बिदा दिएको जानकारी गराएका छन्।
उँभौली किराँतहरू सुनुवार, राई, लिम्बु र याक्खा जातिको महान् चाड हो। उँभौली पर्वको रूपमा रहेको किरातहरूको यो महत्त्वपूर्ण चाड वसन्त ऋतुमा बालीनाली राम्रो होस्, सबैमा सुख शान्ति सुस्वास्थ्य रहोस् र दैविप्रकोप तथा विपत्तिहरू नआउन् भनि पूजा गर्ने प्रचलन छ। यो प्रकृति पूजा गरी मनाइने पर्व हो।
यस पर्वमा सुनुवार र राईहरू साकेला/सखेवा सिली नाच नाच्छन् भने लिम्बु र याक्खाहरूले च्याब्रुङ नाच नाच्ने गर्दछन्। रामेछापको उमाकुण्ड गाउँपालिकामा सुनुवार समुदायको बाहुल्यता रहेको छ।