राष्ट्रपति रामचन्द्र पौडेलले बौद्धनाथस्थित गुरु ल्हाखाङ गुम्बामा भगवान् गौतमबुद्धको पूजा, आराधना गरेका छन्। पच्चीस सय ६९ औँ बुद्धजयन्तीका अवसरमा प्रथम महिला सबिता पौडेलका साथमा राष्ट्रपति बौद्ध पुगेका हुन्।

राष्ट्रपति पौडेलले बौद्ध महाचैत्यको परिक्रमा गर्नुका साथै अमूल्य अस्तुधातु दर्शन गरेका थिए। बुद्धजयन्तीका अवसरमा सोमबार बिहानैदेखि बौद्ध क्षेत्रमा अस्तुधातु दर्शन गर्ने भक्तजनको भीड लागेको छ।

बुद्धजयन्तीका अवसरमा बौद्धनाथमा बुद्धको अमूल्य अस्तधातुसहित काश्यप बुद्ध र स्वयम्भू महाचैत्यको दुर्लभ अस्तु दर्शन गराइएको छ। अस्तु दर्शनसहित भगवान् बुद्धको प्राचीन मूर्ति लिएर शोभायात्रा पनि गराइने तयारी भएको छ।

‘मेरो जन्म अरुको लागि’ भन्ने मूल नारासहित विश्व शान्ति तथा मानव कल्याण यात्रा पनि आजैदेखि आरम्भ गरिने जनाइएको छ।