राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) सँगको केन्द्रीय सम्झौता नवीकरण नगर्ने निर्णय गरेका छन्।

लामिछानेले आज(बुधबार) सामाजिक संजाल फेसबुक मार्फत जारी गरेको वक्तव्यमा यो निर्णय क्रिकेट वा देशबाट टाढा जाने कदम नभई "व्यक्तिगत र व्यावसायिक रूपमा विकसित हुने कदम" भएको बताएका छन्।

क्यानले २०२५ का लागि आफ्नो केन्द्रीय सम्झौताको घोषणा गरेको छ, जसमा लामिछानेको नाम पनि 'ए' ग्रेडमा समावेश थियो। क्यानले ३३ पुरुष र १९ महिला गरी कुल ५२ खेलाडीहरूलाई केन्द्रीय सम्झौता प्रदान गरेको छ।

पुरुष तर्फ सर्वोच्च 'ए' ग्रेडको सम्झौता प्राप्त गर्ने पाँच खेलाडीहरूमा रोहित पौडेल, दीपेन्द्र ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी र आसिफ शेख समावेश थिए। 'ए' ग्रेडको सम्झौतामा खेलाडीहरूले मासिक रू. १,००,००० पाउने प्रावधान छ।

लामिछानेले एक विज्ञप्ति मार्फत जारी गरेको वक्तव्यमा यो निर्णय क्रिकेट वा देशबाट टाढा जाने कदम नभई "व्यक्तिगत र व्यावसायिक रूपमा विकसित हुने कदम" भएको बताएका छन्।

"क्यानले मेरो क्रिकेट यात्रामा निरन्तर समर्थन गरेकोमा म गहिरो कृतज्ञता व्यक्त गर्दछु। नेपाली क्रिकेट र मेरो आफ्नै विकासलाई आकार दिनमा उनीहरूको भूमिका महत्वपूर्ण रहेको छ," लामिछानेको वक्तव्यमा उल्लेख छ। लामिछानेले आफ्नो वक्तव्यमा थप भनेका छन्, "जीवन एक यात्रा हो जसमा विकसित हुँदै जाने बाटोहरू र जिम्मेवारीहरू छन्। अझै धेरै अन्वेषण गर्न, धेरै दिन र धेरै बन्न बाँकी छ।"

उनले आफ्नो देशप्रतिको निष्ठा र खेलप्रतिको जुनून सधैं आफ्नो हरेक कामको केन्द्रमा रहने बताएका छन्। "कहिलेकाहीं, निर्णयहरू अलग्गिनका लागि होइन, उद्देश्य र विकासको ठाउँबाट गरिन्छन्," उनको वक्तव्यमा उल्लेख छ। क्यानले यस सम्बन्धमा अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।