नेपाली काँग्रेसका नेता तथा संविधानसभा सदस्य राम अयोध्या यादवको उपचारका क्रममा निधन भएको छ ।
मधुमेह रोगबाट लामो समयदेखि पीडित यादवको वीरगन्ज हेल्थ केयर हस्पिटलमा उपचारका क्रममा बुधवार बिहान निधन भएको हो ।
स्वास्थ्यमा समस्या आएपछि हस्पिटलमा भर्ना गरिएको र बुधवार बिहान निधन भएको यादवका छोरा डा. जितेन्द्र यादवले बताए । यादवको अन्तिम संस्कार बुधवार दिउँसो १ बजे कबही गाउँमा गरिने उनले जानकारी दिए ।
उनका २ छोरा, २ छोरी र श्रीमती छन् । बाराको सुवर्ण गाउँपालिका–२ कवहीजगात गाउँ घर भएका यादवको ७२ वर्षको उमेरमा निधन भएको नेपाली काँग्रेस बाराले जनाएको छ । २०७० सालको दोस्रो संविधानसभाका लागि बारा निर्वाचन क्षेत्र नम्बर १ बाट काङ्ग्रेसबाट निर्वाचित भएका थिए ।उनी काँग्रेसका पूर्व जिल्ला सचिव तथा महासमिति सदस्य थिए ।