खत्याड गाउँपालिकाको वडा नं ६ मा पर्ने लाम्र पन्सेरीमा रहेको भगवती माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू भौतिक पूर्वधारको अभावमा चिसो भुइँमै बसेर पढ्न बाध्य छन्।
विद्यालयमा भवन अभाव हुँदा यहाँका विद्यार्थीहरू खुला आकाश, टिनको टहरा र बहु कक्षाको व्यवस्था गरी भुइँमा बसेर पठनपाठन गर्न बाध्य भएको पाइएको हो। भौतिक पूर्वाधार निर्माणका लागि विद्यालयसँग पर्याप्त जग्गा भएपनि स्रोतको अभावमा पूर्वाधार निर्माण हुन नसकेको हो।
पूर्वाधार अभावमा ईसीडी कक्षा देखि १० कक्षासम्म अध्ययनरत ३ सय ५० भन्दा बढी विद्यार्थीहरूलाई पठनपाठनका लागि निकै समस्या भएको विद्यालयले बताएको छ। विद्यालयमा आठ वटा मात्र कोठा छन्। जसमा फरक फरक दुई वटा कक्षाका विद्यार्थीहरू सँगै बसेर अध्ययन गरिरहेको विद्यालयका प्रधानाध्यापक विष्णु केसीले जानकारी दिए।
कक्षा कोठा निर्माणका लागि आव २०७६/७७ मा कर्णाली प्रदेश सरकारको सामाजिक विकास कार्यालयले २८ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।
तर, सो बजेटले भवन निर्माण गर्न अपुग भएपछि निर्माणाधीन भवन अलपत्र अवस्थामा छ। पूर्वाधार निर्माणमा सहयोग गर्न स्थानीय र प्रदेश सरकारसँग मौखिक रूपमा सहयोग मागिए पनि त्यसको सुनुवाइ नभएको प्रधानाध्यापक केसीले बताए।
‘विद्यालयमा कक्षाकोठा नै अभाव भएकाले पढाइ राम्रो हुन सकेको छैन। व्यक्तिगत सरसफाइमा पनि असर परेको छ। खुला आकाश र चौरमा बसेर पढ्नु परेको छ भने एउटै कक्षामा दुई फरक कक्षाका विद्यार्थी बसेर पढ्नुपर्दा होहल्ला बढी हुने भएकाले शिक्षकले पढाएको कुरा समेत बुझ्न गाह्रो भएको छ,’ कक्षा दशमा अध्ययनरत छात्रा आकृति शाहीले भनिन्।
राज्यले शिक्षा, स्वास्थ्य, र रोजगारीको जस्ता अनेक शीर्षमा बजेट छुट्याएपनि बजेट अभावमा मुगु जिल्लामा रहेका धेरै विद्यालयहरूको अवस्था यस्तै रहेको वडा नम्बर ६ का  वडा अध्यक्ष भरत बहादुर शाहीले बताए। उनका अनुसार प्रदेश सरकारले दिएको बजेटले विद्यालयको जग हाल्न मात्र पुगेकोले आधा निर्माण भएको भवन वर्षौं देखि अलपत्र अवस्थामा छ।