साताको अन्तिम कारोबार दिन बिहीबार अघिल्लो दिनको तुलनामा कारोबार रकम केही घटे पनि नेप्से परिसूचक २७ सय बिन्दु माथि पुगेको छ।
बुधवार ३४.४२ अङ्कले बढेर २६९४.८२ अङ्कमा पुगेर रोकिएको नेप्से आज ९.१४ अङ्कले बढेर २७०३.९६ बिन्दुमा पुगेर रोकिएको हो। यद्यपि, कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही घटेको छ। बुधवार ९ अर्ब ७४ करोड ४८ लाख ४३ हजार ३७५ रुपैयाँ बराबरको ३ करोड १ लाख ८२ हजार ३४१ कित्ता शेयर खरिद विक्री भएकोमा आज कुल ३११ स्टकको ९ अर्ब ६४ करोड ५५ लाख ५० हजार ६८० रुपैयाँ बराबरको २ करोड ४९ लाख ७६ हजार ३६६ कित्ता शेयर मात्र खरिद विक्री भएको छ। 
यस दिन सेन्सेटिभ इन्डेक्स आज २.१९ अङ्कले बढेको छ। फ्लोट इण्डेक्स १.०२ अङ्कले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स पनि २.८५ अङ्कले बढेको छ।
यस दिन नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता ६३.०२ रुपैयाँले बढेर ६९४.२० रुपैयाँमा अन्तिम कर बार भएको छ। खानीखोला हाइड्रो पावरको शेयर मूल्य ३१.०१ रुपैयाँले बढेर ४६३.७१ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यसैगरी, सम्वृद्धि फाइनान्सको शेयर मूल्य ३४.३१ रुपैयाँले बढेर ५१८.७३ रुपैयाँमा अन्तिम कारोबार भएको छ। भूगोल इनर्जी विकास कम्पनीको र सयपत्री हाइड्रोको शेयर मूल्यमा पनि क्रमशः ४५.१३ रुपैयाँ र ४१.५१ रुपैयाँले बढेर प्रतिकित्ता ७१०.५९ र ६७३.५१ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
यस दिन साहस ऊर्जा लिमिटेड, सप्तकोसी विकास बैंक, एनआरएन इन्फ्रास्टक्चर विकास बैंक, बुटवल पावर कम्पनी र राधि जलविद्युत कम्पनीको शेयर सबैभन्दा धेरै कारोबार भएको छ।
यस दिन गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड र सप्तकोसी विकास बैंकको शेयर मूल्य १० प्रतिशतले घट्दै नकारात्मक सर्किट लागेको छ। गुराँस लघुवित्तको शेयर प्रतिकित्ता २४९.८८ रुपैयाँले घटेर २२६०.२९ रुपैयाँमा अन्तिम कारोबार भएको छ भने सप्तकोसी विकास बैंकको शेयर पनि प्रतिकित्ता १२२.२५ रुपैयाँले घटेर ११००.२० रुपैयाँमा अन्तिम कारोबार भएको छ।