नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पर्यटन विभाग प्रमुख आङगेलु शेर्पाले प्रदेशहरूले ल्याएको बजेटप्रति आपत्ति जनाएका छन्।
नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा बोल्दै शेर्पाले प्रदेशहरूको बजेटले पार्टी नेता कार्यकर्ताको मनोबल घटाएको बताएका हुन्।
शेर्पाले जनतालाई केन्द्रबिन्दुमा राखेर बजेट ल्याउन प्रदेशहरू असफल भएको दाबी गर्दै यसले सङ्घीयतामाथि प्रश्न उठाउनेहरूको मनोबल बढाउने दाबी गरे।
शेर्पाले प्रदेशहरूले ल्याएको बजेट अस्तव्यस्त भएको भन्दै बजेट जस्ताको तस्तै कार्यान्वयनमा आए आर्थिक विचलन र अनियमितताको खतरा बढ्ने औँल्याए।
उनले प्रदेशहरूको बजेटमाथि छानबिन गर्न पार्टीले उच्च स्तर छानबिन समिति बनाउनुपर्ने माग गरे।
संसदभित्र भइरहेका गतिविधिमाथि समेत शेर्पाले प्रश्न उठाए। सांसदहरुले जथाभाबी बोल्दा संसद् आफै विकृति र विसङ्गतिको थलो बन्न थालेकोले छानबिन समिति बनाउन पनि पार्टीले पहल गर्नुपर्ने माग गरे।
संसदभित्रका गतिविधि सामाजिक मर्यादा उलङ्घन गरिरहेको शेर्पाको भनाई थियो। उनले पार्टी भातृ संस्थाहरूको गठन र विघटनमा अल्झिन नहुने बताए। भातृ संस्थाहरू स्वतन्त्र ढङ्गले चल्न दिनुपर्ने भनाई राख्दै शेर्पाले भातृ संस्थाहरूलाई वर्गीय हितमा केन्द्रित गर्नुपर्ने उल्लेख गरे।
उनले नेपालमा पर्यटनको थप विकास गर्न माउन्ट कैलाशको दर्शन गर्न जानेहरूका लागि मुस्ताङको कोरला नाका खोल्न पार्टी र सरकारलाई चीनसँग पहल थाल्न सुझाव दिए।
त्यस्तै उनले पर्यटन र हिमाल आरोहणमा संलग्न मजदुरहरूको हितका लागि हिमाल आरोहणबाट प्राप्त राजस्वको निश्चित प्रतिशत छुट्याउन पार्टीले पहल गर्नुपर्ने माग गरे।