धरानमा भएको तीन फरक फरक अपराधिक घटनामा संलग्न रहेका ५ जना अभियुक्तलाई सुनसरी प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

सुनसरीको धरान–१० स्थित सैनिक चौकमा असार १२ गते साँझ समिर राईमाथि धारिलो हतियार प्रयोग गरी ज्यान मार्ने प्रयास गरिएको थियो। मोटरसाइकलमा आएका चार जनाले खुकुरी, फलामको रड र हेलमेट प्रयोग गरेर समिरलाई आक्रमण गरेका थिए। राई गम्भीर घाइते बनेका थिए भने आक्रमणकारी फरार भएका थिए।

प्रहरीले अनुसन्धानलाई तीव्र बनाउँदै गर्दा विराटनगर महानगरपालिका–१३ बाट असार १७ गते घटनामा प्रयोग भएको को २० प ७५६३ नम्बरको मोटरसाइकलसहित चालक साईमन चौधरीलाई नियन्त्रणमा लिएको थियो।

त्यसपछिका दुई दिनमा घटनामा संलग्न पासाङ शेर्पा र प्रशान्त प्रधानलाई पनि धरानबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगुले जानकारी दिए। घटनामा अर्का अभियुक्त अजय खड्का भने हालसम्म फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धान अनुसार घटना लागू औषध कारोबारको लेनदेन नमिल्दा भएको खुलेको छ। प्रहरीका अनुसार आक्रमणमा प्रयोग गरिएको खुकुरी, फलामको रड र मोटरसाइकलसमेत बरामद गरिएको छ।

त्यस्तै, धरान–१५ मा गत चैत्र २४ गते भएको घर फोडी चोरी घटनामा संलग्न सोनाम लामा पक्राउ परेका छन्। काभ्रेपलाञ्चोक घर भई हाल बेथानचोक गाउँपालिका–६ मा बसोबास गर्दै आएका ४१ वर्षीय लामा काठमाडौंको दरबारमार्ग क्षेत्रबाट असार १४ गते पक्राउ परेका हुन्।

प्रहरीका अनुसार उनले धरानका दुई घरबाट करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको नगद, दुई तोला सुन र १७ तोला चाँदी चोरी गरेका थिए। सवारी साधन भाडामा लिएर मानिस नभएको घरको पहिचान गरी ढोका फोड्ने र चोरी गर्ने शैलीमा उनी संलग्न रहेको अनुसन्धानबाट खुलेको छ।

त्यसैगरी, बालिका यौन दुव्र्यवहारको आरोपमा सुनसरी प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ४९ वर्षीय खगेन्द्र राई रहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

राईलाई धरान–१७ पृथ्वी चोकबाट बुधवार साँझ नै पक्राउ गरिएको थियो। गत वैशाख १७ गते बुधवार धरान १६ स्थित बहुभाषिक पाठशालामा श्रमदान चलिरहेको बेला राईले बालिकालाई यौन हिंसा गरेको पिडित परिवारका आफन्तले आरोप लगाएका छन्। पक्राउ परेका अभियुक्तहरूमाथि सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान थालेको सुनसरी प्रहरीले जनाएको छ।