नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले ऋण दिँदैमा व्यवसायी सफल हुन नसक्ने टिप्पणी गरेका छन्।
पछिल्लो तीन दशकमा बैंकबाट ऋण कसरी प्रवाह हुन्छ भनेर परीक्षण गरिसकेकाले ऋण दिँदैमा व्यवसायी सफल हुन नसक्ने उनको भनाइ थियो।
अर्थ समितिको आइतबारको बैठकमा उनले बैंकमा पर्याप्त तरलता रहेपनि व्यवसायी र किसानसँग पर्याप्त सीप क्षमता नभए त्यसको माग हुन नसक्ने उल्लेख गरे। गभर्नर पौडेलले देशको विकासलाई अघि बढाउन वित्तीय नीतिमै सुधार गर्नुपर्ने उनले बताए।
‘देशको विकासलाई अघि बढाउने भनेको वित्तीय नीतिले नै हो। वित्तीय नीतिले लिड लियो भने मात्रै हामीले कदममा कदम मिलाउने हो। बैंकमा पर्याप्त तरलता रहे पनि व्यवसायी र किसानसँग पर्याप्त सीप क्षमता नभए त्यसको माग हुन सक्दैन। मृगको सङ्ख्या नबढाई बाघको सङ्ख्या बढ्दैन। ऋण दिँदैमा व्यवसायी सफल भएर निस्किँदैन उनले भने’।
सांसद भगवती चौधरीले सानो पुँजी भएका वित्तीय संस्थालाई दुई प्रतिशतको व्यवस्थालाई निरन्तरता दिनुपर्ने बताइन्।
‘वित्त कम्पनीहरू स्लो मोसनमा अगाडि बढ्यो होला। २ प्रतिशत एकैचोटि धेरैलाई गर्दा एक प्रतिशत पनि बाँडफाँट गर्न पर्नेभयो। बैंकरहरुले कर्जा लिन नपाउने हुँदा २ प्रतिशतमा राख्दै राम्रो हुन्छ भन्ने लाग्छ,’ उनले भनिन्। त्यस्तै कार्यक्रममा बोल्दै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बैङ्कहरू सरकारी स्वामित्वको मात्रै हुनुपर्ने माग राखेका थिए।
‘पार्टीले देश सञ्चालन गर्ने हो। दर्शन, सिद्धान्त र व्यवहारको आधारमा देश चल्दैन। त्यही भएर अर्थतन्त्र पनि त्यही बाटोमा गएको छ। अर्थतन्त्र जसले हात पार्छ राजनीति पनि उसले नै हात पार्ने भए त दर्शन, सिद्धान्त काम लाग्दैन। कसैले बैकं खोलेर राजनीति गर्छ भने कसैले फरक तरिकाले गर्छ। निजी बैकंहरु र वित्तीय संस्था स्थापना गर्ने होइन। बैङ्कहरू राज्यकै स्वामित्वको मात्रै हुनुपर्छ,’ उनले भने।