४३९ मेगावाट क्षमताको बेतन कर्णाली जलविद्युत आयोजनाले निर्माण अनुमति प्राप्त गरेको छ।
विद्युत् विकास विभागको असार १५ गतेको निर्णय अनुसार शुक्रवार परियोजनालाई निर्माणको अनुमति दिइएको हो। बेतन कर्णाली जलविद्युत आयोजनाभन्दा उत्तर तर्फ भारतीय कम्पनी ग्रान्धी मल्लीकार्जुन राओ (जिएमआर) ले निर्माण गर्न लागेको ९०० मेगावाट क्षमताको अपर कर्णाली हाइड्रोपावर सँगको सिमाना विवाद टुङ्गिएसँगै बेतनले निर्माण अनुमति प्राप्त गरेको विभागका महानिर्देशक नविनराज सिंहले बताए।
उनका अनुसार अपर कर्णालीको टेलरस लेभल र बेतन कर्णालीको फुल सप्लाइ लेभलको बिचमा २ मिटरको ग्याप राख्ने सर्तमा दुई पक्षबिच विवाद टुङ्गिएको हो।
विभागले विद्युत् ऐन, २०४९ को दफा ४ को उपदफा (२) र विद्युत् नियमावली २०५० को नियम १७ तथा विद्युत् आयोजनाको अनुमति पत्र सम्बन्धी निर्देशिका २०७५ बमोजिम बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति दिएको हो।
कर्मचारी सञ्चय कोषको लगानीमा सुर्खेत जिल्लाको चौकुने र अछामको ढकारी गाउँपालिकाको सिमानामा बेतन कर्णाली जलविद्युत परियोजना बन्दै छ। यो परियोजनामा कोषका सञ्चयकर्ता ४० प्रतिशत, संस्थागत रूपमा कोष १५ प्रतिशत, विद्युत् उत्पादन कम्पनी र नेपाल विद्युत् प्राधिकरण १०–१० प्रतिशत संस्थापक शेयर धनी हुने गरी बनाउन लागिएको हो।