सहरी विकास मन्त्रालयले साउन १ गतेबाट मन्त्रालयमा  एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जीआईओएमएस) कार्यान्वयनमा ल्याउने भएको छ। यो प्रणाली पूर्ण कार्यान्वयनमा आएपछि मन्त्रालयअन्तर्गत हुने सरकारी कामकारबाही पेपरलेस हुने छन् भने अनावश्यक कागजी झन्झट हट्ने सचिव गोपाल सिग्देलले बताए।
मन्त्रालयका सचिव सिग्देलले आंशिक रूपमा अहिले नै जीआईओएमएस कार्यान्वयनमा रहेकोमा साउन १ गतेबाट भने पूर्ण कार्यान्वयनमा ल्याउने जानकारी दिए।  ‘सरकारी कामकारबाही पेपरलेस बनाउने, एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जीआईओएमएस) लागू गर्न लागेका छौँ,’ सचिव सिग्देलले भने,‘ अब अन्तर मन्त्रालय फाइल र चिठी पत्र, मन्त्रालय र विभागहरुबिच फाइल आदानप्रदान गर्दा पेपरलेस हुनेछ। सबै डिजिटलाइज हुनेछ।’
अनधिकृत गाडी प्रयोगमा रोक, विद्युतीय हाजिरीमा कडाइ
सहरी विकास मन्त्रालयले अनधिकृत रूपमा प्रयोग भएका मन्त्रालयका गाडीहरू फिर्ता ल्याएको छ। साउन १ गतेबाट नेपाल सरकारको मापदण्डभित्र पर्नेलाई मात्र गाडी सुविधा दिइने मन्त्रालयले जनाएको छ।
पाउनुपर्नेले गाडी नपाएको र मापदण्डमा नपर्नेले गाडी प्रयोग गरेको पाइएपछि उपप्रधानमन्त्री सिंहको निर्देशनपछि अनधिकृत रूपमा प्रयोग भएका गाडी फिर्ता ल्याइएको छ। मन्त्रालयबाट सरुवा भई जाँदा सचिव र उच्च पदस्थ कर्मचारीहरूले सँगै लगेका सवारीसाधन पनि फिर्ता ल्याइएको छ।
त्यस्तै, मन्त्रालयले साउन १ गतेबाट विद्युतीय हाजिरीमा पनि कडाइ गर्ने भएको छ। अहिले विद्युतीय हाजिरीको व्यवस्था भएपनि विभिन्न बहाना बनाएर हाजिरी टार्ने प्रवृत्ति देखिएको भन्दै मन्त्रालयले कडाइ गर्न लागेको हो। 
प्रमुख आयोजनाको अनुगमन मन्त्रालयबाटै सहरी विकास मन्त्रालयअन्तर्गत सञ्चालित प्रमुख आयोजनाहरूका प्रत्यक्ष नियमित अनुगमन अब मन्त्रालयबाटै हुने छ। अहिले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उपप्रधानमन्त्री सिंहले मन्त्रालयस्थित कार्यकक्षबाटै अनुगमन गर्दै आउनुभएकोमा साउन १ गतेबाट अरू आयोजनाहरूको पनि अनुगमन हुने छ। आयोजनाको कार्य प्रगति विवरण मन्त्रालयको कन्ट्रोल रूपबाट नियमित रूपमा अनुगमन हुनेछ।
यता, झापाको दमकमा रहेको व्यापारिक कम्प्लेक्स साउन १ गतेबाट सर्वसाधारणका लागि खुला हुने भएको छ। सहरी विकास मन्त्रालयले अहिले परीक्षणका रूपमा बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालनमा ल्याउन लागेको हो।
एक सय मिटर अग्लो यो कप्लेक्स १८ औँ तलाको छ। ७२ मिटर उचाइ कंक्रिट संरचनामा बनेको छ भने २८ मिटरमा मेटल फ्रेमको टावर रहेको छ। यो धरहराभन्दा अग्लो हो।