भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक निर्माणको काम पर्याप्त बजेट राखेर काम गर्न नसकेको बताएका छन्। 
शुक्रवार पूर्वाधार विकास समितिमा भएको काठमाडौँ चक्रपथ, कलङ्की–महाराजगञ्ज खण्डको डिपीआर सम्बन्धी छलफलमा उनले हरेक आर्थिक वर्षमा पाँच छ सय मिटर वा एक किमी मात्र सडक बनाउनुपर्ने बाध्यात्मक स्थिति रहेको भन्दै योजनामा पर्याप्त बजेट राख्न नसकेको बताए। 
उनले भने, ‘बाँकी सडकहरू बनाउने काम भइरहेको छ। बजेटको सीमितता सबैलाई थाहा नै छ। पर्याप्त बजेट राखेर बनाउन सकिरहेका छैनौ। हरेक आर्थिक वर्षमा ५, ६ सय मिटर वा १ किमी बनाउनु पर्ने बाध्यात्मक स्थिति छ।’
यस्तै, उनले वातावरणमैत्री र अपाङ्गमैत्री सडक संरचनाहरू बनाउनुपर्छ भन्ने विषय उठेको भन्दै त्यसतर्फ मन्त्रालय लागेको पनि बताए। 
उनले भने, ‘कलङ्की–बसुन्धरा ८.२ किमी सडकको सन्दर्भमा लामो प्रतिक्षापछि अगाडि बढेको छ। अब बिस्तारै संविधान र मन्त्रालयमा नै पनि वातावरणमैत्री, अपाङ्गमैत्री सडक संरचनाहरू बनाउनुपर्छ भन्ने विषय उठेको छ। हामीले लिफ्टको कुरा पनि अगाडि सारेका छौ। ठाउँ ठाउँमा जेष्ठ नागरिकहरूको लागि सजिलो हुने गरी लिफ्टबाट माथि चढेर आकाशे पुल तर्ने खालको विषय उठेको छ।’ 
उनले वसुन्धरादेखि उताको सडक सरकारले नै बनाउने भने पनि रकम थोरै भएको हुनाले गति अलि धिमा भएको भन्दै अहिले रिङ्रोड एरिया पनि एकदमै राम्रो तरिकाले अगाडि बढेको बताए। 
साथै, सडक निर्माणको क्रममा हुने जामलाई कसरी व्यवस्थित गर्ने भन्ने सन्दर्भमा विभिन्न प्रकारको मोडलहरू पनि सोची रहेको उनको भनाई छ।