पब्जी मोबाइल ई स्पोट्र्स वल्र्डकप खेल्ने नेपाली टिम होर ई स्पोट्र्सलाई बिदाई गरिएको छ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र ई स्पोट्र्स सङ्घ नेपाल (इशान) का अध्यक्ष अन्जन धमलाले खेलाडीहरूलाई बिदाई गरेका हुन्।
खेलाडी तथा अफिसियललाई शुभकामना दिँदै सदस्य–सचिव घिसिङले ई स्पोट्र्स खेलमा नेपालले पछिल्लो समय राम्रो सम्भावना देखाएको उल्लेख गर्दै नेपाली टिमलाई विजेता बनेर आउन शुभेच्छा दिएका थिए।
उनले विदेशी भूमिमा नेपालको प्रतिनिधित्व गर्दै टिम तथा खेलाडीहरूले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका थिए। सङ्घका अध्यक्ष अन्जन धमलाले पनि ई स्पोट्र्सको अन्तर्राष्ट्रिय नतिजाका लागि सक्दो सहयोग गर्न आफूहरू तयार रहेको बताएका थिए।
पब्जी टिममा खेलाडीको रूपमा आकाश राई, शीतल राई, सुप्रिम अधिकारी, उगेन छोपेल लामा, प्रवेश गुरुङ र आयुश लामा रहेका छन् भने म्यानेजरमा उमेश बुढथापा र अफिसियलमा सञ्जन गौतम र नवराम श्रेष्ठ सहभागी हुनेछन्।
साउदी अरबमा जुलाई २३ देखि अगष्ट २५ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा होर ई स्पोट्र्स एक्लो टिमको रूपमा छनोट भएको हो। काजकिस्तानमा गत महिना भएको पब्जी मोबाइल सुपर लिग सेन्ट्रल तथा साउथ एसियामा दोस्रो स्थानमा रहँदै होर विश्वकपमा छनोट भएको थियो। झण्डै ४१ करोड रुपैयाँ पुरस्कार राशि भएको प्रतियोगिताको विजेताले करिब ७ करोड रुपैयाँ प्राप्त गर्नेछ।