बंगलादेशमा भएको विमान दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या २७ पुगेको छ। राजधानी ढाकाको उत्तरा क्षेत्रमा एउटा विद्यालय भवनमा वायुसेनाको प्रशिक्षण विमान ठोक्किएर दुर्घटना भएको हो।
उत्तरा क्षेत्रको माइलस्टोन विद्यालय तथा कलेजको भवनमा ठोक्किएको हो। मृतकमध्ये २५ जना केटाकेटी छन्।
अर्का एक जना विमान चालक र एक जना शिक्षक रहेको जनाइएको छ। घटनामा परी घाइते भएका अरु ७८ जनाको उपचार भइरहेको छ।
हालसम्म २० जनाको शव परिवारको जिम्मा लगाइएको छ।
सोमबार दिउँसो वायुसेनाको एफटी–७बीजीआई लडाकु विमानले कुर्मितोला हवाई आधारबाट उडान भरेको थियो। उडान भरेको १२ मिनेटपछि उक्त विमान दुईतले विद्यालय भवनमा बजारिएको थियो।
मेसिनरी समस्याका कारण दुर्घटना भएको प्रारम्भीक जानकारी दिइएको छ।
विमान दुर्घटना भएपछि बंगलादेशको अन्तरिम सरकारले मंगलबार राष्ट्रिय शोक घोषणा गरेको छ। सरकारले मंगलबार सबै सरकारी, अर्धसरकारी, स्वायत्त संस्था तथा शैक्षिक प्रतिष्ठानमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय समेत गरेको छ।