राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विन्दवासिनी कंसाकारले आजका मितिसम्म भ्रष्टाचारको डर लाग्दो जालोलाई हटाउने पहल नै नगरिएकोमा विरोध र आपत्ति रहेको बताएकी छन्।
बुधवार प्रतिनिधिसभाको बैठकमा उनले टिभीको शृङ्खला जस्तो हरेक दिन भ्रष्टाचारको नाङ्गो समाचार आइरहेको भन्दै यस्तो अवस्थामा पनि यसलाई हटाउने आँट नदेखिएको मात्र होइन, ठोस पहल नै नगरिएको बताइन्। उनले रास्वपाको माग यथावत् रहेको र आन्दोलन जारी रहेको पनि बताइन्।
उनले भनिन्, ‘टिभीको शृङ्खला जस्तो हरेक दिन भ्रष्टाचारको नाङ्गो समाचार आइरहेका छन्। ७८ लाखको काण्ड सेलायो, ३२ लाख वाला मन्त्री अझै यतै छन् छानबिन र कारबाही हुनुपर्छ कि पर्दैन। भ्रष्टाचार, राजनीतिक संरचना र प्रशासनको मिलेमतोमा वर्षैदेखि आजका मितिसम्म निर्वाद चलिरहेको मानव तस्कर र भ्रष्टाचारको यो डर लाग्दो जालोलाई हटाउने आँट नदेखिएको मात्र होइन, ठोस पहल नै नगरिएकोमा हाम्रो विरोध र आपत्ति छ। हाम्रो माग यथावत् छ, आन्दोलन जारी छ।’ यस्तै, उनले मधेसमा पानीको अभावले गर्दा रोपाई हुन नसकेको र कलहरु सुकेर पिउने पानीका लागि मानिस घर छोड्न बाध्य भएको विषयमा पनि सबैको ध्यानाकर्षण गराएकी छन्।
उनले भनिन्, ‘मधेसमा आज कलहरु सुकेका छन्, रोपाई हुन सकेको छैन। पिउने पानीका लागि मानिस घर छोड्न बाध्य छन्। तर मन्त्रीहरु विदेश भ्रमणमा नै व्यस्त छन्। बारा, पर्सा, महोत्तरी पुग्नु पर्ने हतारो सरकारलाई छैन। संसदमा हामी ४८ दिन देखि उभिएका छौ। भिजिट भिसाको नाममा हुने सङ्गठित मानव तस्कर बारे सरकारलाई खबरदार गरिरहेका छौ। तस्करको सेटिङ नभत्किएको तथ्य आज कै राष्ट्रिय दैनिकहरूमा छापिएको छ। भ्रष्ट र तस्करहरुको सरकारसँग डराएका छैनौ।’