राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक अर्को दिन बस्ने गरी सारिएको छ। आइतबार उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह अनुपस्थित भएपछि सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवन निर्माणका विषयमा हुने भनिएको छलफल पर सारिएको हो। 
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद हितराज पाण्डेले समितिको महत्त्वपूर्ण छलफलमा मन्त्रीलाई कति खेरसम्म पर्खिराख्ने हो भन्नै सम्बन्धित व्यक्ति जिम्मेवार हुनुपर्ने बताए।
उनले भने, ‘सभापतिले विषयवस्तु राखिरहँदा मन्त्री ज्यु कति वेला आउनु होला, हामी कति खेरसम्म पर्खिराख्ने हो र यसको जवाफ त टेक्निकल्ली त दिनुहोला। यसको जिम्मेवारपूर्ण जवाफ चाहियो। यसको जिम्मेवार जवाफ कसले दिने हो, यी विषयवस्तु दोहोरिरहेका छन्। सिंहदरबारभित्रको कम्पाउन्डको कुरा हो, चार पटकसम्म म्याद थप हुँदासम्म पनि नगरिएको कुरा हो।’ उनले संविधानले दिएको समितिले निर्माणाधीन सङ्घीय संसद् भवन निर्माणको क्रममा म्याद थप गरिएकोमा सरकारबाट जवाफ माग्न चाहेको बताए।
‘सरकारले के विश्वासका आधारमा यो म्याद थप गरिएका हो। त्यो म्याद थप गरिएको जवाफ सरकारबाट नै चाहन्छौ नि। जब की हामीलाई हाम्रो सरकारको संविधानले दिएको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको दायित्व अन्तर्गत बसेका छौ। यो संयुक्त समिति पनि हो,’ उनले भने। समितिका सभापति ठाकुर प्रसाद गैरेले थपिएको समयभित्र भवन निर्माणको काम सम्पन्न हुने मन्त्रालयको प्रतिबद्धता र मन्त्रालयको योजना जान्न चाहेको बताए।
‘थपिएको समयभित्र भवन निर्माणको काम सम्पन्न हुन्छ भन्ने कुरामा मन्त्रालयको प्रतिबद्धता र योजना जान्न चाहेका हौँ। त्यो मन्त्रीसहितकै उपस्थितिमा समितिमा छलफल गर्न चाहेको हो। मन्त्रीज्यूको उपस्थिति हुन सकेन। सरसल्लाह गरेर मन्त्रीज्यूको उपस्थितिमा अर्को बैठक तय गरेर खबर गरिने म जानकारी गराउन चाहन्छु।’आजको बैठकको  सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवन निर्माणको हालको कार्यतालिका र सो कार्यतालिका कार्यान्वयन सुनिश्चित गर्ने मन्त्रालयको तयारी सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको थियो।
यता, उपप्रधान तथा सहरी विकास मन्त्री सिंह आइतबारको बैठकमा उपस्थित हुन नसक्ने चार दिन अगाडि समितिलाई जानकारी गराउनुभएको मन्त्रीका स्वकीय सचिव युपी लामिछानेले जानकारी दिए।‘अन्यन्त्रै कार्यक्रम पहिल्यै निश्चित भएकाले मन्त्रीज्यूले आइतबारको बैठकमा अनुपस्थिति हुने जानकारी चार दिन अगाडि नै गराउनु भएको थियो। बैठक उहाँहरू आफ्नो तरिकाले राख्नुभएको हो। तर मन्त्रालयका कर्मचारीहरू बैठकमा सहभागी हुनुभएको छ,’ उनले भने।