व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई सोमबार मध्यराति प्रहरीले पक्राउ गरेपछि नागरिक बचाउ दल नेपालले तय गरिएको मंसिर ७ को मिति नपर्खिकन आजैदेखि संघर्षका कार्यक्रम सुरु गर्ने घोषणा गरेको छ।

महामन्त्री प्रेमकुमार थाम्सुहाङका अनुसार प्रसाईंलाई ‘अपहरण शैलीमा’ पक्राउ गरेर सरकारले शान्ति भंग गरेको आरोप दलले लगाएको छ। “हाम्रा नेता दुर्गा प्रसाईंलाई मध्यराति नियन्त्रणमा लिएर सरकारले नै तनाव सिर्जना गर्यो। त्यसैले आजैदेखि देशव्यापी आन्दोलन सुरु गर्छौं,” थाम्सुहाङले भने।

प्रसाईंलाई जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो। उनी १५ चैतको हिंसात्मक आन्दोलनपछि छुटेका थिए र मंसिर ७ देखि राजावादी एजेन्डासहितको आन्दोलन घोषणा गरिरहेका थिए। बैंक ऋण मिनाहा लगायतका मागसहित आन्दोलन सुरु गर्ने तयारीमा रहेका प्रसाईंलाई ‘हिंसा भड्काउने’ अभिव्यक्तिका कारण पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ।

गिरफ्तारीविरुद्ध आज पहिलो चरणमा जिल्ला प्रशासन कार्यालयहरूमा ध्यानाकर्षणपत्र बुझाउने र त्यसपछि देशभर प्रदर्शन थाल्ने नागरिक बचाउ दलको तयारी छ।

“हामी दल दर्ता गरेर निर्वाचनमा जान लागेको पार्टी हौँ। हाम्रो अभियान शान्तिपूर्ण थियो, तर सरकारले नै शान्ति भंग गर्‍यो,” थाम्सुहाङले भने। उनले प्रसाईंलाई तत्काल, विना सर्त र सम्मानपूर्वक रिहाइ गर्न माग गर्दै चेतावनी दिए— “अन्यथा यो सरकारको अन्त्य सडकबाटै हुनेछ।”