ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले १ सय दिनमा गरेका १ सय कामको सूची सार्वजनिक गरेका छन्।
उनले ऊर्जासँगै भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका छन्। उनले तीन वटा मन्त्रालयबाट १ सय दिन अवधिमा भएका १ सय कामको सूची सार्वजनिक गरेका हुन्।
मन्त्री घिसिङले यसबीच आफूले जनताको विश्वास बोकेको एक सेवकका रूपमा जिम्मेवारी निर्वाह गर्दै आएको समेत बताए। ‘सय दिन समयका हिसाबले छोटो भए तापनि जिम्मेवारीका हिसाबले अत्यन्त गाह्रौ छन्,’ उनले भने, ‘आलोचनबाट नडराइ, दबाबमा नझुकी र गलतसँग सम्झौता नगरी आफ्नो कर्तव्य पूरा गरिरहेको छु।’
यसबीच आफूले भाषणभन्दा काम र देखिने नतिजालाई प्राथिमकता दिएको उनले दाबी गरे।
मन्त्रालयमा बसेर होइन, विकास आयोजनाका वास्तविक समस्या बुझ्न निर्माणस्थलमै पुग्नुपर्छ भन्ने मान्यतासाथ फिल्डमै गएर आयोजना व्यवस्थापन, परामर्शदाता, निर्माण व्यवसायी र स्थानीयसँग प्रत्यक्ष संवादको शैली अपनाएको समेत मन्त्री घिसिङको भनाइ छ। ‘अधुरा सडक एवं पुलका कारण दुःख भोगिरहेका यात्रु, सिँचाइ अभावले खेत बाँझो राख्न बाध्य किसान लगायतको आवाज नजिकबाट सुन्ने र आयोजनालाई गति दिने प्रयास गरिएको छ,’ उनले भने, ‘एउटा पुल १४ वर्षसम्म पनि निर्माण हुन नसक्ने अवस्था स्वीकार्य हुन सक्दैन।’
मन्त्री घिसिङले १ सय कामको सूचीमा ‘डेडिटेकेड’ तथा ‘ट्रंक’ लाइनको प्रिमियम बक्यौता किस्ताबन्दीमा असुल गर्न थालिएको राखेका छन्।
त्यस्तै, मौसम सम्बन्धी विशेष बुलेटिन प्रकाशन यो सूचीमा राखिएको छ। बुढीगण्डकी जलविद्युत् आयोजनाको मोडालिटी तय गरी सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको छ। अपर अरुण जलविद्युत् आयोजनाको समेत वित्तीय ढाँचा तयार भएको विषय यो सूचीमा राखिएको छ।
यसैगरी, भारत र बंगलादेशमा १९ अर्ब रुपैयाँ बराबर विद्युत् निर्यात भएको सूचीमा उल्लेख छ। भौतिकतर्फ कोटेश्वर चोक सुधारमा जापान सरकारसँग ३४ अर्ब ४९ करोड येन बराबर ऋण सम्झौता राखिएको छ।
त्यस्तै, ४० रुग्ण ठेक्का तोडिएका छन्। अन्य तोड्ने प्रक्रियामा रहेका छन्। बीपी राजमार्गको पुनर्निर्माणको कामलाई पनि सूचीमा राखिएको छ।



















