बाराको परपवानीपुरमा आमा र छोराको हत्या भएको छ। परवानीपुर गाउँपालिका–१ का ४६ वर्षीया सुमित्रा देवी र उनका २८ वर्षीय छोरा रामेश्वर मण्डलको गएराति हत्या भएको हो।

उनीहरू दुवैको घाँटीमा चक्कु प्रहार गरी विभत्स तरिकाले हत्या गरेको खुलेको बारा प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवरले जानकारी दिए। धारिलो हतियार प्रयोग गरेर हत्या गरिएका दुवैको शव घरभित्रै फेला परेको हो।

मृतक रामेश्वरका बुबा ५० वर्षीय जगरुप मण्डल र बहिनी २० वर्षीया रिणा कुमारी मण्डल घाइते छन्। घाइतेको स्थानीय एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ। मृतक रामेश्वरकी श्रीमती २३ वर्षीया मानिता देवी भने सामान्य घाइते छन्।

प्रहरीका अनुसार राति साढे २ बजे अज्ञात एक व्यक्तिले रामेश्वरको घरभित्र छिरेर परिवारका सदस्यमाथि अन्धाधुन्ध धारिलो हतियार प्रहार गरेको खुलेको छ।

घटनामा प्रहरीले रामेश्वरकी श्रीमती मनितादेवीलाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनलाई सोधपुछका लागि नियन्त्रणमा लिएको कुँवरले जानकारी दिए। 

हतियार प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।