त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयस्थित वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत तीन कर्मचारी घुससहित पक्राउ परेका छन्।
पक्राउ पर्नेमा हुलाक भन्सार शाखा भन्सार अधिकृत इन्द्र न्यौपाने, कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनी र हुलाक भन्सार पार्सल (निकासी) शाखामा कार्यरत नासु छवि प्रसाद रिजाल छन्। उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गोश्वारा हुलाक कार्यालय डिल्लीबजारबाट आइतबार पक्राउ गरेको हो।
पुडासैनीबाट घुस लिएको १० हजार, १ लाख ३६ हजार ४२० जरी गरी जम्मा १ लाख ४६ हजार ४२० बरामद भएको छ। त्यस्तै, रिजालको साथबाट घुस लिएको २० हजार र स्रोत नखुलेको रकम गरी २ लाख ६८ हजार २८८ रुपैयाँ भएको छ।
उनीहरुले कुरियर कम्पनीमार्फत विदेश पठाउने सामानमा घुस माग्ने गरेको सूचना आएपछि अख्तियारले छापा मारेर पक्राउ गरेको हो।
यसका साथै २३ थान मोबाइल पनि बरामद भएको छ।




















