मोरङ क्षेत्र नम्बर-३ कम्युनिस्ट शक्तिको ‘लालकिल्ला’को उपमा पाएको क्षेत्र हो। २०४८ सालदेखि २०७४ सम्मका सबै निर्वाचनमा मोरङ-३ (पहिले मोरङ-२) मा कम्युनिस्ट उम्मेदवारहरूले जित्दै आएका थिए।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा भने यो लालकिल्ला नेपाली कांग्रेसका उम्मेदवार डा. सुनिल शर्माले तोडे। कम्युनिस्ट गढ भत्काउने क्रममा शर्माले नेकपा एमाले उम्मेदवार भानुभक्त ढकाललाई २२ हजार बढी मतान्तरले पराजित गरेका थिए। शर्माले ४८ हजार ६३१ मतसहित जित हासिल गर्दा ढकालले २५ हजार ८९५ मत पाएका थिए। ढकाल अहिले एमालेको केन्द्रीय सचिव छन्।

तीन वर्षअघि कम्युनिस्ट गढ भत्काएका शर्मा फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसबाटै फेरि चुनावी मैदानमा छन्। यसपटक उनलाई कम्युनिस्ट उम्मेदवारभन्दा बढी गैह्र कम्यनिस्ट उम्मेदवारले चुनौती दिइरहेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मोरङ-३ मा शर्माविरुद्ध गणेश कार्कीलाई उतारेको छ। प्रारम्भिक माहोल हेर्दा शर्मालाई कार्कीले कडा टक्कर दिने देखिएको छ।

यस्तै, एमालेले इरनकुमार राई, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट डा. देउमान सम्बाहाम्फे पनि यो क्षेत्रका बलिया प्रतिद्वन्द्वी हुन्। हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको पनि यहाँ प्रभाव देखिएको छ। उसले अमिर मगर चुनावी मैदानमा उतारेको छ। मोरङ–३ मा दल र स्वतन्त्र गरी कुल १८ जना उम्मेदवार छन्।

एजेण्डाः शर्माको स्वास्थ्य, कार्कीको ‘सिस्टम’ बदल्ने

विराटनगरको नोबेल मेडिकल कलेजका सञ्चालकसमेत रहेका कांग्रेस उम्मेदवार शर्माले स्वास्थ्य उपचारमा सहुलियत दिने ‘कार्ड’ फालिरहेका छन्। जुन मुद्दा ०७९ को प्रतिनिधिसभामा पनि उनले प्रयोग गरेका थिए।

निर्वाचन जितेपछि उनले मोरङ–३ का बिरामीका लागि नोबेल अस्पतालमा छुट्टै वार्ड बनाएका थिए। अहिले अस्पतालमा ‘होटलको जस्तै बेड बनाएर सेवा दिने’ आश्वासन बाँडिरहेका छन्।

उता रास्वपा उम्मेदवार कार्की राजनीति र पार्टीभित्र प्रश्न गरेरै चिनिएका नेता हुन्। उनले ‘सिस्टम बदल्ने’ भन्दै भोट मागिरहेका छन्। ठुला सपना बाँड्ने भन्दा पनि दैनिक जनजीजवनमा प्रभाव पार्ने विषयलाई सहज बनाउने बताएर कार्की मतदातासम्म पुगिरहेका छन्।

एमाले उम्मेदवार राई र रास्वपा उम्मेदवार कार्कीले सुकुमवासी समस्या, दोहोरो स्वामित्व विवाद, सडक पूर्वाधार, शैक्षिक गुणस्तर सुधारलगायत एजेण्डा अघि सारेर भोट मागिरहेका छन्।