राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्रीका रूपमा अघि सारेका नेता बालेन्द्र शाह (बालेन) झापा ५ बाट निर्वाचित भएपछि गायक राजेश पायल राईले गीत उपहार दिएका छन्।
राजेशले ‘झिक्कै झिक्कै माया तम्लाई’ शीर्षकको गीत बालेनलाई उपहार दिएका हुन्।
गीत सार्वजनिक गर्दै राजेशले लेखेका छन्, ‘मैले गीत नै उपहार दिएँ। बाँकी हेर्नु नहेर्नु तपाईंको अधिकार। भावी प्रधानमन्त्री बालेन शाहको स्ट्याटसबाट लिएको शब्द– झिक्कै झिक्कै माया तम्लाई।’
स्ट्याटसमा राजेशले बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा स्वीकार गरेका छन्।
चुनावी प्रचारका क्रममा सुदूरपश्चिममा रहँदा बालेनले एक तस्बिर सार्वजनिक गर्दै क्याप्सन ‘झिक्कै झिक्कै माया तम्लाई’ लेखेका थिए।
धनगढीको चुनावी सभामा भाषण गर्ने क्रममा पनि उनले उक्त लाइन दोहोर्याएका थिए। त्यसपछि यो लाइन भाइरल बनेको थियो।
बालेनले चुनावी प्रचारका क्रममा प्रयोग गरेका शब्दहरू जोडेर राजेशले गीत बनाएका हुन्। गीतको भिडियोमा भने रास्वपाका सभापति रवि लामिछाने र श्रम संस्कृति पार्टीका संस्थापक हर्क साम्पाङको तस्बिर पनि देख्न सकिन्छ।
यो गीत राजेशको आधिकारिक युट्युब च्यानलबाटै सार्वजनिक भएको छ।




















