मोरङ, १६ चैत्र — पूर्व–पश्चिम लोकमार्गअन्तर्गत निर्माणाधीन काँकरभिट्टा–लौकही सडक आयोजनाको क्रममा मोरङको बेलबारी नगरपालिकामा एचआईभी/एड्स, यौन रोग तथा मानव बेचबिखनसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

सोमबार बेलबारी नगरपालिमा आयोजित उक्त कार्यक्रम भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र एशियाली विकास बैंक (ADB) को आर्थिक सहयोगमा सञ्चालन भइरहेको राजमार्ग अभिवृद्धि आयोजनाअन्तर्गत सम्पन्न गरिएको हो।

WhatsApp Image 2026-03-30 at 4.09.03 PM (1)

कार्यक्रममा वडा नं. १,२,३,४,८,१० र ११  का स्थानीय बासिन्दा, सडक निर्माणमा संलग्न श्रमिक, यातायातकर्मी तथा अन्य चलायमान जनसंख्यालाई लक्षित गरी एचआईभी/एड्स, यौन रोग तथा मानव बेचबिखनका सम्भावित जोखिमबारे जानकारी प्रदान गरिएको थियो।

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण विज्ञ जीवन सिंहले सडक निर्माणसँगै बाहिरबाट कामदारको आवागमन बढ्दा महिलाहरू, बालबालिका तथा स्थानीय समुदायमा यौनजन्य हिंसा, दुर्व्यवहार र मानव बेचबिखनको जोखिम बढ्न सक्ने बताइन्। उनले समयमै परीक्षण, उपचार तथा सतर्कता अपनाउनुपर्नेमा जोड दिइन्।

WhatsApp Image 2026-03-30 at 4.09.03 PM

कार्यक्रममा स्वास्थ्यकर्मी शोभा भट्टराईले एचआईभी/एड्स तथा यौन रोगसम्बन्धी जानकारी प्रस्तुत गरेकी थिइन् भने बेलबारी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन गिरीले मानव बेचबिखन सम्बन्धी जोखिम र सुरक्षाका उपायबारे प्रोजेक्टरमार्फत प्रस्तुति दिएका थिए।

कार्यक्रमकी प्रमुख अतिथि बेलबारी नगरपालिकाकी उपप्रमुख नितु थापाले सडक निर्माणका लागि विभिन्न देशबाट कामदारहरू आएको उल्लेख गर्दै सम्भावित जोखिमबाट बच्न स्थानीय बासिन्दा सचेत हुनुपर्ने बताइन् साथै आयोजनासँग सम्बन्धित निकायले समेत यस विषयमा गम्भीर ध्यान दिनुपर्नेमा जोड दिँदै सहभागीहरूलाई कार्यक्रममा सिकेका कुराहरू समुदायमा अन्य व्यक्तिसम्म पुर्‍याउन आग्रह गरिन्। जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेकोमा उनले आयोजनाप्रति धन्यवादसमेत व्यक्त गरिन्।

WhatsApp Image 2026-03-30 at 4.09.03 PM (3)

कार्यक्रममा बेलबारी नगरपालिका उप-प्रमुख नितु थापा, काँकरभिट्टा–लौकही सडक आयोजनाका प्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधि, शिक्षक तथा स्थानीय गरी १०० भन्दा बढीको सहभागिता रहेको थियो।

विज्ञ सिंहका अनुसार झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न पालिकामा यस्ता जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ। सो योजनाअनुसार झापा र मोरंग गरेर ११ वटा पालिकामा कार्यक्रम सम्पन्न भइसकेको छ भने मोरङ र सुनसरीका पालिकाहरूमा कार्यक्रम जारी रहेको छ। साथै सडक छेउका ६० स्थानमा लैङ्गिक हिंसाविरुद्ध चेतनामूलक साइनबोर्ड राख्ने लक्ष्यअनुसार हाल मोरङ र सुनसरीका करिब ३० स्थानमा साइनबोर्ड राखिसकिएको र बाँकी स्थानमा राख्ने कार्य भइरहेको जानकारी दिइन्।

त्यसैगरी आयोजनाअन्तर्गत सडक सुरक्षा सम्बन्धी जनचेतनामूलक कार्यक्रम सडक छेउका विद्यालयमा शिक्षक तथा विद्यार्थीहरू र सार्वजनिक सवारीसाधनका चालकहरूलाई लक्षित गरी सञ्चालन गरिने जानकारी पनि दिइएको छ। कार्यक्रमको सहजीकरण जीवन सिंहले नै गरेकी थिइन्।

WhatsApp Image 2026-03-30 at 4.09.03 PM (2)