नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवादमा सहमतिको वातावरण बनेको छ। सभापति गगन थापा र कांग्रेसका पूर्वकार्यवाह सभापति पूर्णबहादुर खड्काबीच आइतबार साँझ गोल्फुटारस्थित खड्का निवासमा भएको छलफलपछि सहमति जुटेको हो।

छलफलमा कांग्रेस अनुशासन समितिले पूर्व कार्यवाहक सभापति खड्कालाई सोधिएको स्पष्टीकरण फिर्ता लिने समझदारी भएको स्रोतले जनाएको छ।

अदालतले विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई मान्यता दिइसकेको अवस्थामा स्पष्टीकरणको औचित्य समाप्त भएको निष्कर्ष निकालिएको बताइएको छ।

खड्काले कार्यवाहक सभापतिको हैसियतमा दुईवटा वक्तव्य जारी गरेपछि कांग्रेस अनुशासन समितिले वैशाख २ गते स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। समितिले स्पष्टीकरणका लागि एक साताको समय दिएको थियो।

यसैबीच खड्कालाई सोधिएको स्पष्टीकरण फिर्ता लिने विषयमा निर्णय गर्न अनुशासन समितिको बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ। बैठकले औपचारिक निर्णय गर्ने अपेक्षा गरिएको छ।

यसलाई कांग्रेसभित्र देखिएको विवाद समाधानतर्फ उन्मुख भएको संकेतका रूपमा हेरिएको छ।