बालेन्द्र शाह राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा लगातार दोस्रो पटक अनुपस्थित भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस असन्तुष्ट बनेको छ। प्रधानमन्त्रीको अनुपस्थितिप्रति विरोध जनाउँदै कांग्रेसले सोमबारको समिति बैठक बहिष्कार गरेको हो।

सुकुमबासीको बलपूर्वक उठिबास, सुरक्षा प्रशासन तथा गृह मन्त्रालयसँग सम्बन्धित विभिन्न संवेदनशील विषयमा प्रधानमन्त्रीसँग प्रत्यक्ष जवाफ लिनुपर्ने कांग्रेसको माग रहेको छ। गृह मन्त्रालयको जिम्मेवारी समेत सम्हालिरहेका प्रधानमन्त्री बालेन्द्र शाह बैठकमा उपस्थित नभएपछि कांग्रेसले बैठकको औचित्यमाथि नै प्रश्न उठाएको हो।

समितिमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, सचेतक निश्कल राई तथा सांसदहरू अर्जुननरसिंह केसी र रेखाकुमारी यादव सहभागी हुने तय भए पनि उनीहरू बैठकमा अनुपस्थित रहे।

कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले प्रधानमन्त्री उपस्थित नभएसम्म समिति बैठकको कुनै अर्थ नरहेको टिप्पणी गरे। उनले भने, “गृह मन्त्रालयसँग सम्बन्धित सुकुमबासी लगायत विषयमा जवाफ लिनु छ। गृहमन्त्रीको भूमिकामा प्रधानमन्त्री बालेन्द्र शाह नै भएकाले उहाँ आएर जवाफ दिनुहुन्छ भने मात्रै हामी आउँछौँ। प्रधानमन्त्री नआउने हो भने औपचारिक रूपमा भेटघाट गरेर, चिया खाएर फर्किने हिसाबले हाम्रो उपस्थिति रहँदैन।”

आङ्देम्बेले समिति सभापति हरि ढकाल लाई प्रधानमन्त्री उपस्थित हुने भए मात्रै बैठकको जानकारी दिन आग्रह गरिएको पनि बताए। उनका अनुसार प्रधानमन्त्रीलाई समितिमा उपस्थित गराउन पटक–पटक आग्रह गरिए पनि त्यसको सुनुवाइ नभएको गुनासो कांग्रेसको छ।

प्रधानमन्त्रीको अनुपस्थितिका कारण राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दोस्रो पटक प्रभावित भएको छ। यस घटनाले संसद्को समिति स्तरमै सरकार र प्रतिपक्षबीचको सम्बन्ध थप तनावपूर्ण बनेको राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।