राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बास्कोटाले सर्वोच्च अदालतको कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ललाई कोसँग लडाइँ बाँकी छ ? भन्ने प्रश्न गरेकी छन्। कामु प्रधानन्यायाधीधले कानुन सेवा दिवसको दिन दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले सरकारसँग लडाइँ छ भनेको भए आफ्नो रहेको खेद बताइन्।
“कोसित लडाईं बाँकी छ ? उहाँ त न्यायमूर्ति हो। यदि, सरकार–सत्तासित लडाईं अझै बाँकी छ भन्नुभएको भए पहिलो चरणमा खेद छ,” उनले सोमबार प्रतिनिधिसभा बैठकमा निमापत्ति जनाउँदै भनिन्।
उनले ‘राजनीति नै गर्ने भए कोट खोलेर आउनू’ भन्दै चुनौती दिइन्। “अदालतमा दलीय हस्तक्षेत्र भएको हो र न्यायमूर्ति यहीँबाट उहाँकै कामरेडको भाषामा बुझाउन चाहन्छु– राजनीति नै गर्न खोज्नुभएको हो न्यायमूर्तिहरूले भने कोट खोलेर आउनुहोला। हामी तयार छौँ,” उनले भनिन्।
उनले न्यायपालिकाले सत्ताकब्जा गर्ने नियत राखे न्यायसम्पादन हुन नसक्ने बताइन्। “सत्ताकब्जा गर्ने नियतले काम गर्न थाल्यो भने यसले न्यायसम्पादन गर्न सक्दैन। न्यायसम्पादन सर्वोच्च अदालतमा बस्नुभएको न्यायाधीश सबैको प्रमुख दायित्व, धर्म, जिम्मेवारी हो,” बास्कोटाले भनिन्।
उनले कामु प्रधानन्यायाधीश मल्लले ‘डेलिगेसन’ बोलाएर दर्ता भएको रिटलाई ‘दरपीठ गर्नू’ भनेको सुनिएको भन्दै आपत्ति जनाइन्। “सुन्नमा कति आएको छ भने, कायममुकायम प्रधानन्यायाधीशले डेलिगेसन बोलाएर दर्ता भएका रिटलाई दरपीठ गर्नु कतिको न्यायोचित हो ? यो हामीले छलफल गर्नैपर्छ,” उनले भनिन्।
रास्वपाका अर्का सांसद यज्ञमणि न्यौपानले कामु प्रधानन्यायाधीशको आदेश भनेर कुन धाराले ‘गाइड’ गरेको भन्ने नदेखिएको बताए। उनले सक्रियता अन्यत्रै देखिएको टिप्पणी गरे। “कन्फिल्क्ट अफ इन्ट्रेस्टको सिद्धान्त देखिने गरी न्याय प्रशासनको विषयभन्दा बाहिर गएर जे क्रियाहरू हुन्छन् कि भन्ने डर नेपाली नागरिकमा छ,” उनले भने।




















