कोशी प्रदेशसभा बैठक विपक्षी दलका सांसदले अवरुद्ध गरेका छन्। बुधबार सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा संशोधन हाल्ने समय छलेर पारित गरिएको भन्दै उनीहरूले बैठक अवरुद्ध गरेका हुन्।
सभामुख अम्बरबहादुर विष्टले नीति तथा कार्यक्रममा विपक्षीले संशोधन नै नल्याएको भन्दै जसपा संसदीय दलका नेतालाई विशेष समयमा आफ्नो विचार राख्न समय दिएका थिए। त्यसपछि पूर्वमुख्यमन्त्री राजेन्द्र राई रोस्ट्रमतर्फ उक्लिएका थिए।
उनले माइक समाएर आफ्नो भनाइ राख्न खोजे। तर, मर्यादापालकले उनलाई घेरेर फेरि रोस्ट्रमभन्दा तल ल्याएका थिए। त्यसपछि सदन सञ्चालन गर्न नदिने भन्दै विपक्षी सांसदले अवरोध गरिरहेका छन्।
संशोधन हाल्ने समयका विषयमा प्रदेशसभा सचिवालयले समेत कुनै जानकारी र सूचना जारी नगरेको भन्दै विपक्षी दलका सदस्यले सभामुखको ध्यानाकर्षण गराएका छन्।
केसी सरकारको नीति तथा कार्यक्रम मंगलबार (जेठ १२) सभाबाट पारित गरिएको थियो।




















