राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सङ्घीय संसद् जनताको सार्वभौम इच्छाको संस्थागत अभिव्यक्ति हुनुपर्ने बताएका छन्।
६८ औँ संसद् दिवसका अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले दलीय स्वार्थभन्दामाथि उठेर जनहितमा केन्द्रित हुन सांसदहरूलाई आह्वान गरे। अध्यक्ष दाहालले संसदीय अभ्यासलाई परिणाममुखी र प्रविधिमैत्री बनाउनुपर्ने पनि बताए।
अध्यक्ष दाहालले संसद्को वर्तमान कार्यशैलीप्रति निर्मम समीक्षा गर्नुपर्ने बताए। ‘हामीले आफैँलाई प्रश्न सोध्नुपर्छ– के संसदबाट समयमै आवश्यक ऐन–कानुन निर्माण हुन सकेका छन् रु के कार्यपालिका संसदप्रति उत्तरदायी भएको छ रु,’ दाहालले भने। संसदीय बहसलाई तथ्यमा आधारित, मर्यादित र रचनात्मक बनाउनु आजको अपरिहार्य आवश्यकता रहेको उनको तर्क थियो।
संविधान संशोधनका बारेमा चल्दै गरेको बहसप्रति सङ्केत गर्दै अध्यक्ष दाहालले संविधान जड नभई समय र जनआकांक्षा अनुसार परिमार्जन हुने ‘जीवित दस्तावेज’ भएको बताए । तर, उनले चेतावनी दिँदै भने, ‘संविधान संशोधनको उद्देश्य विगतका उपलब्धिहरूबाट पछाडि फर्किने होइन, अझ परिपक्व र सबल लोकतान्त्रिक व्यवस्थातर्फ अगाडि बढ्ने हुनुपर्छ। यसलाई कुनै दल वा समुदायको स्वार्थमा केन्द्रित गरिनु हुँदैन।’ गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशिता राष्ट्रका साझा धरोहर भएकोले यिनलाई थप संस्थागत गर्न मात्र संशोधन हुनुपर्ने उनले बताए।
२१औँ शताब्दी विज्ञान र प्रविधिको युग भएको उल्लेख गर्दै अध्यक्ष दाहालले संसदलाई ‘डिजिटल संसद्’ को अवधारणातर्फ लैजानुपर्ने बताए। आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० का कारण विश्वमा आएको परिवर्तनलाई आत्मसात् गर्दै त्यसको जिम्मेवार र मानवीय उपयोगका लागि कानुनी ढाँचा निर्माण गर्न ढिला गर्न नहुने उनको भनाइ थियो।
नेपालको युवा जनसंख्यालाई राष्ट्रिय विकासको सक्रिय साझेदार बनाउनुपर्नेमा जोड दिँदै अध्यक्ष दाहालले युवाहरूका लागि रोजगारी, उद्यमशीलता र डिजिटल अवसर सिर्जना गर्ने नीति निर्माण गर्नु संसदको प्रमुख दायित्व भएको बताए। ‘युवाहरूको विश्वास जित्न सके मात्र लोकतन्त्रप्रतिको जनभरोसा बलियो हुन्छ,’ उनले भने।
जटिल बन्दै गएको क्षेत्रीय तथा विश्वव्यापी शक्ति सन्तुलन र नेपालको संवेदनशील भूराजनीतिक अवस्थितिलाई दृष्टिगत गर्दै उनले राष्ट्रिय हित र परराष्ट्र नीतिका सवालमा सबै दलहरूबिच न्यूनतम सहमति र स्थिरता आवश्यक रहेको बताए।
अध्यक्ष दाहालले अन्तमा संवादलाई विभाजनको नभई सहकार्यको माध्यम बनाउन अपिल गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रका उपलब्धिलाई अक्षुण्ण राख्दै समृद्ध नेपाल निर्माणको यात्रामा एकजुट हुन सबैलाई आग्रह गरे।




















