रौतहटमा हावाहुरी र वर्षाले ४ करोड ४० लाख रुपैयाँ बराबरको काँचो इट्टा नोक्सानी भएको छ। वैशाख १४ गतेको साँझको हावाहुरी र वर्षाले पोल्नको लागि तयार पारिएको काँचो इँटा गलेर क्षति भएको हो।
वर्षभरि बेच्नका लागी तयार भइरहेको इट्टा पानीले नष्ट गरेपछि इट्टा व्यवसायीहरू आर्थिक समस्यामा परेका हुन्।
यहाँका बिके इट्टा उद्योग, वीर इट्टा उद्योग, पूजा इट्टा उद्योग, एमबिआई इट्टा उद्योग, सोना इट्टा उद्योग, रामजानकी इट्टा उद्योग लगायत ४० वटा उद्योगहरूमा हावाहुरी र वर्षाका कारण ईट्टामा क्षति भएको रौतहट इट्टा उद्योग व्यवसायी सङ्घका अध्यक्ष तथा एसपिएल इँटा उद्योगका सञ्चालक रामबिनोद साहले बताए ।
विभिन्न स्थानका उद्योगहरूमा करिब ११ लाख भन्दा बढी काँचो इट्टा नष्ट भएको उनले जानकारी दिए। ‘प्रत्येक काँचो इट्टाको लागत औसतमा ३ रुपैयाँ भन्दा बढी पर्छ, उनले भने, यो आकडाले करिब ४ करोड ४० लाख रुपैयाँको क्षति पुगेको अनुमान गरिन्छ।’
प्रत्येक वर्ष हिउँदे वर्षाका कारण ईट्टामा क्षति पुग्ने गरेको इट्टा उद्योगी व्यवसायीहरू बताउँछन्। बेमौसमी वर्षाले यहाँका प्रत्येक इट्टा उद्योगमा १० देखि ५५ लाख रुपैयाँ सम्मको क्षति भएको रौतहट इट्टा उद्योग व्यवसायी सङ्घले जनाएको छ। कृष्णा इट्टा उद्योगका सञ्चालक प्रेमशंकर यादवका अनुसार १० लाख भन्दा बढी काँचो इट्टा गलेर नष्ट भएको छ।
यो पटकको हावाहुरी र वर्षाले करिब ५५ लाख रुपैयाँ बराबरको नोक्सानी भएको उनले गुनासो गरे। इँटा व्यवसायीको समस्या वा मर्कामा बारेमा तिनै तहका सरकारले ध्यान दिनुपर्ने उनको भनाई छ।
इट्टा उद्योगको बिमा नहुँदा समस्या भएकाले बिमा प्रणालीको व्यवस्था गर्न सम्बन्धित पक्षहरूलाई सङ्घले बारम्बार आग्रह गर्दै आएको छ।