राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जानकी जयन्तीको दिन सरकारले सार्वजनिक बिदा नदिएको भन्दै आपत्ति जनाएका छन्।
मङ्गलवार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले खै कता जन्मिएको राम नवमीमा चाहिँ बिदा दिने, जानकी जयन्तीको दिन बिदा दिन चाहिँ छुटाउने भन्दै प्रश्न गरे।
उने भने,‘यो सगरमाथाको देश, बुद्धको देश भन्दै गर्दा जानकीको देश भन्ने बिर्सेको छौँ। त्यही क्रममा आज जानकी जयन्तीको दिन बिदा पनि छुटाऔँ। खै कता जन्मिएको राम नवमीमा चाहिँ बिदा दिन्छौँ। तर आफ्नै भूमिमा जन्मिएका जानकी जयन्तीमा बिदा दिँदैनौँ। दुई वर्ष बिदा दिएको रहेछ तर फेरी हटाएका छौँ। राज्य संयन्त्रले आमाको नाममा नागरिकता त दिएन। मन्त्रिपरिषद्मा महिलाको उपस्थिति पनि हामीले कमजोर देखिरहेको छौँ। भएको एउटा मन्त्री पनि जानुभयो।’
त्यस्तै, उनले अहिले राजनीतिक प्रतिशोधको क्रम चलिरहेको भन्दै त्यसलाई हेरेर मात्र सधैँ चुप लागेर बस्न नसक्ने बताए।