हाउण्ड्स एकेडेमीले हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा लगातार दोस्रो जित हात पारेको छ।
कीर्तिपुर कभर्डहलमा मङ्गलवार भएको खेलमा हाउण्ड्सले टाइम्स बास्केटबल क्लबमाथि ८५–८१ को रोमाञ्चक जित दर्ता गरेको हो।
निकै प्रतिस्पर्धात्मक खेलमा हाउण्ड्स र टाइम्सले दुई–दुई क्वाटरमा अग्रता लिएको थियो। तर बाजी हाउण्ड्सले मार्यो।
टाइम्सले पहिलो क्वाटरमा २२–१९ ले आफ्नो पक्षमा पार्दै अग्रता लिएको थियो। तर दोस्रो क्वाटरमा हाउण्ड्सले पुनरागमन गर्यो र दोस्रो क्वाटर २६–२० ले आफ्नो पक्षमा पार्दै हाफ टाइमसम्म ४५–४२ को अग्रता बनायो।
तेस्रो क्वाटर पनि हाउण्ड्सले २८–१६ आफ्नो पक्षमा पार्दा ७३–५८ को अग्रता बनायो।
१५ अङ्कले पछि परेको अवस्थामा पनि टाइम्सले चौथो क्वाटरपमा उत्कृष्ट प्रदर्शन गर्दै पुनरागमन प्रयास गरेको थियो। चौथो क्वाटर टाइम्सले २३–१२ ले आफ्नो पक्षमा पा¥यो तर हार टार्न सकेन।
टाइम्सका लागि कप्तान सदिशे प्रधानले सर्वाधिक २९ अङ्क स्कोर गरेपनि जिताउन सकेनन्। यस्तै विजयी टिम हाउण्ड्सका लागि सुजल खड्काले २१ अङ्क स्कोर गरे।
हाउण्ड्सका विजय बुर्जा लगातार दोस्रो खेलमा मोस्ट भ्यालुएबल प्लेअर घोषित भए।
हाउण्ड्सले पहिलो खेलमा रोएल्सलाई पराजित गरेको थियो।
टाइम्सको भने यो पहिलो हार हो। पहिलो खेलमा टाइम्सले गोल्डेनगेट बास्केटबल क्लबलाई पराजित गरेको थियो।
यस्तै मङ्गलवारै भएको दोस्रो खेलमा गोल्डेनगेट बास्केटबल क्लबलाई रोएल्सलाई ७९–७२ ले पराजित गरेको छ। गोल्डेनगेटको यो पहिलो जित हो भने रोएल्सको लगातार दोस्रो हार हो।
पहिलो क्वाटर रोएल्सले २०–१६ ले आफ्नो पक्षमा पारेपनि त्यसपछि गोल्डेनगेटले पुनरागमन गरेको थियो। दोस्रो क्वाटर गोल्डेनगेटले १७–१३ ले आफ्नो पक्षमा पारेपछि हाफ टाइमसम्म स्कोर ३३–३३ भएको थियो।
तेस्रो क्वाटर २३–२२ ले आफ्नो पक्षमा पारेको गोल्डेनगेटले अन्तिम क्वाटरअघि झिनो अग्रता लिएको थियो। चौथो क्वाटर पनि २३–१७ ले आफ्नो पक्षमा पार्दै गोल्डेगेटले खेल जित्यो।
गोल्डेगेटको जितमा निकेश मगरले सर्वाधिक २७ अङ्क स्कोर गरे। उनी मोस्ट भ्यालुएबल प्लेअर घोषित भए। रोएल्सका प्रसन ध्वज मास्केले २५ अङ्क स्कोर गरे।
लिगमा बुधवार सामाखुसी यूथ क्लब कीर्तिपुरबीच प्रतिस्पर्धा हुनेछ। यी दुईबीचको पहिलो लिग खेलमा कीर्तिपुर विजयी भएको थियो।
६ टोली सहभागी लिग डबल राउण्ड रोविन प्रणालीमा सञ्चालन भइरहेको छ।