धनुषाको सबैला नगरपालिका वडा नम्बर ९ भठिहनस्थित लामो समयदेखि विवादित रहेको यादव चौक नाम लाई हटाएर श्रीराम चौक राख्ने निर्णय भएको छ।
गत चैतमा धनुषाको सबैला नगरपालिकास्थित भठिहन भन्दा करिब १०० मिटर दक्षिण रहको चौबाटोलाई केही उद्दण्ड प्रवृत्तिका व्यक्तिहरूले यादव चोक लेखिएको बोर्ड राखेपछि विवाद सृजना भएको थियो।
सो क्रममा झडप हुँदा कयौँ व्यक्ति घाइते भएका थिए। स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक युवक गम्भीर घाइते हुन पुगेका थिए। ती युवकको अहिले पनि उपचार भइरहेको छ।
विवाद अन्त्य गर्न सबैला नगरपालिकाका मेयर कारिराम यादवले दुई महिनाभित्रै सो चोकको नामाकरण गर्ने प्रतिबद्धता जाहेर गरेका थिए।
वडा नं. ९ का वडाध्यक्ष मनिष राय अमातको नेतृत्वमा बसेको सर्व पक्षीय बैठकबाट सो चोकको नाम श्रीराम चौक राख्ने निर्णय भएको छ। बैठकले चौकमा ‘श्रीराम चौक’ लेखिएको सङ्केत बोर्ड सार्वजनिक रूपमा राख्ने र सो बोर्डमा रामघाटतर्फ, कोल्लुवा मोड, र सतोश्वरधाम जाने दिशाहरू स्पष्ट रूपमा उल्लेख गरिने निर्णय गरेको छ। बोर्ड स्थानीय जनप्रतिनिधि तथा सुरक्षाकर्मीहरूको उपस्थितिमा अनावरण गरिने जनाइएको छ।