कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा दामोदर थापा क्षेत्री नियुक्त भएका छन्। 
विश्वविद्यालय सेवा आयोगको दोस्रो अध्यक्षमा प्रोफेसर डाक्टर दामोदर थापा क्षेत्री नियुक्त भएका हुन्।
अध्यक्ष थापालाई आइतबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा  गोपनीयताको शपथग्रहण गराए।
विश्वविद्यालयको मोरङको बुढीगंगा ४ हात्तीमुढा स्थित केन्द्रीय कार्यालयमा आयोजित शपथ ग्रहण कार्यक्रममा सहकुलपति तथा कोशी सरकारका सामाजिक विकास मन्त्री पाँच कर्ण राई, उपकुलपति डा सुवास श्री पोखरेल, संरक्षण समिति सदस्य सत्यनारायण चौधरी, रजिष्टार डा दिलनाथ  फुयाँल र डिन प्राडा प्रचण्ड मान प्रधान लगायतको उपस्थिति थियो। मनमोहन प्राविधिक विश्वविद्यालय कोशी सरकारले २०७६ मा स्थापना गरेको देशकै पहिलो प्राविधिक विश्वविद्यालय हो। यो विश्वविद्यालयमा हाल इन्जिनियरिङ, कानुन, औषधी विज्ञान र अस्पताल व्यवस्थापनमा पढाई हुदै आएको छ।
विश्वविद्यालयको आफ्नै सेवा आयोग, परीक्षा कार्यालय, अनुसन्धान केन्द्र, लाइब्रेरी, विभिन्न ल्याबहरू सहित तीन वटा स्कुलहरू सञ्चालनमा रहेका छन्।