दीपेन्द्र के खनालद्वारा निर्देशित चलचित्र ‘के घर के डेरा: घर नम्बर २’ आजदेखि देशभर प्रदर्शनमा आएको छ।
सामाजिक कथावस्तुमा आधारित यस चलचित्रले सहरी गरिबी, डेरावालाको सङ्घर्ष, घरबेटी–डेरावालाबिचको सम्बन्ध र आम नागरिकको जीवन कथालाई सजीव ढङ्गले उजागर गर्न खोजेको छ।
निर्देशक खनाल सामाजिक विषयमा गहिरो पकड राख्ने सिने निर्देशकका रूपमा परिचित छन्। उनले यस पटक पनि सहरको वास्तविक जीवनभित्र गहिरिएर त्यही कथालाई पर्दामा उतारेका छन्।
फिल्म रिलिजको पूर्वसन्ध्या अर्थात् बुधवार काठमाडौँको सुनधारास्थित क्यूएफएक्स सिभिल मलमा फिल्मको विशेष प्रिमियर सो आयोजना गरिएको थियो।
प्रिमियरमा निर्माण पक्षले बजार, मल र चोकमा भेटिएका १८० भन्दा बढी र्‘यान्डम’ सर्वसाधारणलाई निमन्त्रणा गरेर फिल्म देखाएको थियो। निर्देशक खनालका अनुसार यो प्रयोग नेपाली फिल्म उद्योगमै पहिलो पटक गरिएको शैली हो।
सेलिब्रिटी अथवा आफन्तहरूले प्रायः सकारात्मक प्रतिक्रिया दिने भएकाले दर्शकको इमानदार भावना जान्नको लागि सर्वसाधारणलाई सहभागी गराएको निर्देशक खनालले बताए। प्रिमियरमा सहभागी आम दर्शकहरूले फिल्मप्रति उत्साहजनक प्रतिक्रिया दिएका थिए।