लागूऔषध खैरो हेरोइनसहित मकवानपुर प्रहरीले बुधवार २ जनालाई पक्राउ गरेको छ।
बुधवार दिउँसो ३ बजेको समयमा प्रहरी टोलीले हेटौँडा–१५ रातोमाटेमा सुरक्षा जाँच गर्ने क्रममा पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका–५ का २० वर्षीय करण राय र २९ वर्षीय उपेन्द्र रायभरलाई लागूऔषध खैरो हेरोइन १८ ग्राम १५० मिलिग्रामसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
वीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको म १ प २१८ नम्बरको पर्यटक बसमा सवार करण र उपेन्द्रलाई शङ्का लागी सुरक्षा जाँच गर्दा करण रायले बोकेको झोलामा मोबाइल चार्जरभित्र लुकाएर ल्याएको अवस्थामा लागूऔषध खैरो हेरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद लिई उनीहरूलाई हिरासतमै राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।