राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्था र हिन्दु राज्यमा आस्था राखेकै कारण दण्ड भोग्नुपर्ने भए सरकारविरुद्ध विद्रोहमा जान र जङ्गल पस्न भन्नुपर्ने बताएका छन्।
शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले देशमा सुशासन हुनुपर्छ, भ्रष्टाचार गर्नेलाई दण्डित हुनुपर्छ भन्दै आवाज उठाउनेलाई प्रमाणित गरेको भन्दै यस्तो धारण राखेका हुन्।
‘आस्थाकै आधारले एकपछि अर्को गरी अनेक बहानाले पक्राउ गर्दै लाने हो भने म प्रधानमन्त्री, गृहमन्त्री र सिङ्गो सरकारलाई भन्न चाहन्छु यसरी निषेध गरेर लाने भए औपचारिक रूपमै सरकारले भन्दियोस् हामी विद्रोहमा जाऔँ। राप्रपा लगायत हिन्दु राज्य, राजसंस्था मान्छु भन्नेहरूले सङ्घीयता मान्दिन, प्रदेश मान्दिन भन्नेहरू देशमा सुशासन हुनुपर्छ, भ्रष्ट्राचार गर्नेलाई दण्डित हुनुपर्छ भन्नेहरू यसरी प्रमाणित हुनुपर्छ भने विद्रोहमा जान्छौ। विद्रोहमा जाऔँ, जङ्गल पस भन्नुपरो,’ उनले भने।
उनले सरकारले निरन्तर संविधान उल्लङ्घन गरेको भन्दै राजसंस्था, हिन्दुसस्था मान्छु भन्दा अपमानपूर्वक प्रहरी खोरमा राखिएकोमा आपत्ति जनाए।
‘यो अत्यन्तै दुखद र मानवअधिकार विरुद्ध, मानव हक अधिकारको विरुद्ध, अहिलेको संविधानले व्यवस्था गरेको सुविधाको विरुद्ध सरकारको तर्फबाट भएको क्रियाकलाप घोर भर्त्सना गर्दछु,’ उनले भने।