काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले काठमाडौँको बालाजु र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी वितरणका लागि प्रक्रिया सुरु गरेको छ।
खानेपानीमन्त्री प्रदीप यादवको निर्देशन पश्चात् आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले काठमाडौँ महानगरपालिका–१६ अन्तरगत बालाजु, बसपार्क, चापाकोट, च्याङली, लाजिमपाट, बेगलकोटे, शिवपुरी, खोकन तथा नागार्जुन नगरपालिका अन्तरगतको वडा नं १ र २ का कागेश्वरी मनोहरा, नागार्जुन वन, वृन्दावन महादेव लगायतका क्षेत्रमा मेलम्चीको पानी वितरणका लागि प्रक्रिया सुरु गरेको हो।
काठमाडौँ उपत्यकामा पानीको आपूर्तिमा थप सुधार गर्नु र नागरिकलाई सफा र प्रशोधन गरिएको पानी उपलब्ध गराउने उद्देश्यले बालाजु र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी वितरणका लागि प्रक्रिया सुरु गरिएको आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) का प्रमुख टिकाबहादुर चौधरीले जानकारी दिए। 
उनले भने,‘काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गर्ने अभियान र मन्त्री ज्युको निर्देशन पश्चात् हामीले उक्त कार्यका लागि आज बोलपत्र समेत आह्वान गरेका छौँ। नागरिकलाई सफा र प्रशोधन गरिएको पानी उपलब्ध गराउने हाम्रो उद्देश्य हो।’
वितरण सञ्जाल सुधार कार्य, रिङ रोड, बालाजु अन्तर्गत कुल पाइप लम्बाइ तीन हजार आठ सय ११ मिटर रहने जनाइएको छ। 
बालाजु ट्याङ्कीबाट नागरिकलाई सफा र प्रशोधन गरिएको पानी आपूर्ति गरिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले जनाएको छ।
उक्त सेवा सञ्चालन पश्चात् मेलम्ची परियोजना अन्तर्गत २७० मिलियन लिटर पानी प्रतिदिन काठमाडौँको विभिन्न भागमा आपूर्ति गर्न सकिने अनुमान गरिएको छ। 
काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका अनुसार, पानीको वितरणमा आएको ढिलाइलाई अब अन्त्य गर्दै, काठमाडौँमा पानीको आपूर्ति प्रक्रिया व्यवस्थित रूपमा अघि बढाइ काठमाडौँ उपत्यका भित्रको पानी सङ्कटलाई एक हदसम्म समाधान गर्न मद्दत पुर्‍याउने खानेपानी मन्त्रालयले विश्वास लिएको छ। 
उक्त प्रक्रिया सुचारुसँगै काठमाडौँ महानगरपालिका बालाजु र नागार्जुन नगरपालिकाका नागरिकहरूले आगामी दिनहरूमा नियमित रूपमा मेलम्चीको प्रशोधित पानी प्राप्त गर्ने छन्। सो कार्यका लागि अहिले काठमाडौँ उपत्यकाभरिका नागरिकहरूलाई मेलम्चीको शुद्ध अनि सफा खानेपानी वितरणका लागि सञ्जाल निर्माणको कार्य फास्ट ट्याकअन्तर्गत अगाडि बढेको जनाइएको छ।
Photo1 2