भोजपुरमा एक व्यक्तिले आफ्नो परिवारका चार सदस्यको हत्या गरेका छन्। भोजपुर नगरपालिका २ हेलौछा बस्ने राजेन्द्र राईले रामप्रसाद राई गाउँपालिका–२ धोदलेखानीमा सासु, ससुरा, श्रीमती र सालोको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्स्पेक्टर दीपक श्रेष्ठका अनुसार राई आफैँले शनिवार राति सवा १ बजे प्रहरी कन्ट्रोल रुममा फोन गरेर ‘म माथि चक्कु प्रहार भएकाले मैले मान्छे मारे, मलाई पक्राउ गर्न आउनुस्’ भनेर फोन गरेका थिए।
त्यसपछि तत्काल अस्थायी प्रहरी चौकी ओख्रेबाट प्रहरी सहायक निरीक्षक अशोक कुमार खवास र जिल्ला प्रहरी कार्यालय भोजपुरबाट हबल्दार नेतृत्वको टोली परिचालित भएको थियो।
घटनास्थल रामप्रसाद राई गाउँपालिका–२ धोदलेखानीमा प्रहरी पुग्दा राजेन्द्र राईका ससुरा ६८ वर्षीय बेलबहादुर गिरी, सासु मञ्जु गिरी र उनका श्रीमती र सालोको शव फेला परेको थियो। प्रहरीले श्रीमती र सालो ‘अन्डर एज’को भएको भन्दै नाम भने खुलाएको छैन। श्रीमती १६ वर्ष र सालो १० वर्षका छन्।
राजेन्द्र राईलाई भने रामप्रसाद राई गाउँपालिका वडा नम्बर १ हर्बुभञ्ज्याङ भन्ने ठाउँमा घाइते अवस्थामा फेला पारेर प्रहरीले नियन्त्रणमा लिएको छ। चार जनाको हत्या भएको ठाउँ र राजेन्द्र राई घाइते अवस्थामा फेला परेको ठाउँ करिब ४/५ किलोमिटर दुरीमा पर्दछ।
राजेन्द्र राईको पेटमा धारिलो हतियारको चोट छ। उनी जिल्ला अस्पतालमा उपचाररत छन्। उनले शनिवार राति करिब ११ बजे सासु आमाले चक्कुले हानेपछि आफूले चार जनाको हत्या गरेको प्रारम्भिक बयान दिएका छन्। ‘उनी बिस्तारै-बिस्तारै बोल्न सक्छन्, आफूले हत्या गरेको भनेका छन्। घटनाबारे अनुसन्धान भइरहेको छ।
उनले करिब एक वर्ष अघि प्रेम विवाह गरेका थिए।