बुद्ध एयरले छ महिनामै ७ अर्ब ४१ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ। नेपालको आन्तरिक उड्डयन क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको कम्पनीले सन् २०२५ को ६ महिनामै उक्त नाफा कमाएको हो।
सन् २०२४ मा कम्पनीले १३ अर्ब २२ करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो। त्यसअघि सन् २०२३ मा बुद्ध एयरले १२ अर्ब १६ करोड ९० लाख रुपैयाँ बराबरको आम्दानी गरेको थियो। सन् २०२३ को तुलनामा कम्पनीको आम्दानी सन् २०२४ मा ८.८६ प्रतिशत अर्थात् १ अर्ब ५ करोड ७० लाख रुपैयाँ बढेको क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालको मूल्याङ्कनले देखाएको छ।
कम्पनीले कुल ३ अर्ब ८ करोड ९१ लाख रुपैयाँ र १८.७४ मिलियन अमेरिकी डलर कर्जाका लागि रेटिङ गराएको हो। यस अघि कोरोना महामारीको समयमा पनि बजारमा अन्य कम्पनीहरूको तुलनामा बलियो वित्तीय अवस्था कायम गर्न सफल बुद्ध एयर महामारीभन्दा अघिकै अवस्थामा फर्किएको देखिएको हो।
बुद्ध एयरले सन् २०२२ मा १० अर्ब ९ करोड ८० लाख रुपैयाँ, सन् २०२१ मा ३ अर्ब ३३ करोड ६० लाख रुपैयाँ बराबरको आम्दानी गरेको थियो। यस्तै, सन् २०२० मा ४ अर्ब ९४ करोड २० लाख रुपैयाँ, सन् २०१९ मा ६ अर्ब ८० करोड ८० लाख रुपैयाँ, सन् २०१८ मा ६ अर्ब ८ करोड रुपैयाँको आम्दानी गरेको थियो।
काठमाडौँ, पोखरा, विराटनगर, भैरहवा, नेपालगञ्ज, धनगढी, जनकपुर, भद्रपुरलगायत देशका प्रमुख सहरहरूमा दैनिक उडान गर्दै आइरहेको बुद्ध एयरले हाल १६ वटा एटीआर–७२ र २ वटा एटीआर–४२ विमानमार्फत सेवा दिइरहेको छ। विसं २०५३ मा स्थापना भएको बुद्ध एयरले भारतका कोलकाता र वाराणसीसम्म सीमित अन्तर्राष्ट्रिय उडान सेवा पनि दिँदै आएको छ।
कम्पनीका अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले बुद्ध एयरको नेतृत्व गर्दै आएका छन्। कम्पनीको पछिल्लो पाँच वर्षको वित्तीय विवरणका आधारमा यसले सञ्चालन आम्दानी, नाफा तथा कर्जासम्बन्धी सूचकहरूमा उल्लेखनीय सुधार गरेको देखिएको छ।