नेपालमा १८ घण्टासम्म लामो लोडशेडिंग हटाएर चर्चामा आएका नेपाल विद्युत् प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङले उज्यालो अभियान सुरु गर्ने घोषणा गरेका छन्।
बहराइनवासी नेपाली समुदायले आफ्नो सम्मानमा शुक्रवार आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रममा उनले त्यस्तो घोषणा गरेका हुन्। नेपाली श्रमिक आबद्ध भएका विभिन्न सङ्घसंस्था तथा गैरआवासीय नेपाली सङ्घको तर्फबाट उनलाई अभिनन्दन गरिएको थियो।
बहराइनवासी नेपालीद्वारा संयुक्तरुपमा आयोजित नागरिक अभिनन्दनका संयोजक फुलबहादुर बल, नेपाली क्लबका अध्यक्ष दीपक गुरुङ, गैरआवासीय नेपाली सङ्घ, बहराइनका अध्यक्ष राजु श्रेष्ठ, पूर्वअध्यक्ष लक्ष्मी गिरी, जनजाति महासङ्घका अध्यक्ष वीरेन्द्रकुमार तुम्वापोलगायतले घिसिङलाई नागरिक अभिनन्दन पत्र हस्तान्तरण गरेका थिए।
नागरिक अभिनन्दन ग्रहण गर्दै घिसिङले आफू कुनै पार्टीको झन्डा लिएर खाडी क्षेत्रमा नआएको बताए। ‘म कुनै पनि पार्टीको झन्डा लिएर आएको होइन। म कुनै पार्टीको घोषणा गर्न बहराइन आएको होइन। म सरकारी कर्मचारी वा सरकारको प्रतिनिधि भएर पनि आएको होइन,’ घिसिङले भने,‘एउटा जिम्मेवार नागरिक भएको हिसाबले तपाईहरुसँग हातमा हात मिलाउन, साथमा साथ मिलाउन र तपाईँहरूको सङ्कल्पलाई अभियानको रूपमा अगाडि बढाउन आएको हुँ।’
उनले बहराइनबाट उज्यालो अभियान सुरु गरेको बताए। ‘यो उज्यालो अभियान बहराइनबाट सुरु गरेका छौँ। यो अभियान अरू देशमा पनि पुग्नेछ,’ उनले भने, ‘तपाईँहरू कसरी अगाडि बढ भन्नुहुन्छ, त्यसरी नै मेरो पाइला अगाडि बढ्नेछ।’
घिसिङले आफ्नो अभियान बारे थप बताएनन्, तर हालै समाचार एजेन्सी, नेपाल न्युज बैंकसंग कुरा गर्दै उनले  सबै जनताको मुहारलाई उज्यालो गराउनुपर्ने बताएका थिए।  
‘मैले ३० वर्षसम्म जुन डेलिभरी दिएर एउटा ठाउँमा पुगेँ सोही क्रममा लोडसेडिङ अन्त्य मात्र होइन घाटामा रहेको नेपाल विद्युत् प्राधिकरणलाई नाफामा ल्याउनेदेखि देशभर विद्युतीकरण गर्ने काम गरियो। त्यति मात्र नभएर भारतदेखि बङ्गलादेशसम्म विद्युत् निर्यात भयो। अब उज्यालो नेपाल वा उज्यालो अभियान भनेको बत्तीको मात्रै उज्यालोले भएन,’उनले भने, ‘अँध्यारो हटाउनुपर्ने ठाउँ धेरै छन्, धेरै क्षेत्रमा अँध्याराहरू छन्। सबै क्षेत्रको अँध्यारोलाई उज्यालोमा कन्भर्ट गर्नुपर्‍यो।’
एक प्रश्नको जवाफमा घिसिङले हाम्रा मान्छे होइन, राम्रा मान्छेलाई प्राथमिकता दिनुपर्ने बताए। ‘हामीले जनतामा आत्मविश्वास जगाउन सकेनौँ। त्यस कारण निराशा बढ्दो छ। यी सबै कुराहरूलाई सम्बोधन गर्न राम्रो मान्छेको लिडरसिप जरुरी छ। देशको समग्र अर्थतन्त्रलाई कसरी सुधार गर्न सकिन्छ भन्ने कुरा गर्दा त्यो क्षेत्र राजनीति पनि हुन सक्छ। तर, कसरी अघि बढ्ने भन्ने विषयमा हामी छलफल गरेर अघि बढ्छौँ,’ उनले भने।
घिसिङ बहराइनपछि युएई, ओमान र कतारमा विभिन्न सङ्घ संस्थाले आयोजना गर्ने कार्यक्रममा सहभागी भइरहेका छन्। अगष्ट महिनामा उनी अमेरिका र बेलायत जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।
पदावधि सकिन झन्डै चार महिना मात्रै बाँकी रहेका घिसिङलाई कार्य सम्पादनमा शून्य नम्बर दिँदै गत चैत्र महिनामा सरकारले बर्खास्त गरेपछि उनी सरकारको उक्त निर्णय विरुद्ध सर्वोच्च गएका थिए। सरकारको उक्त निर्णयको विभिन्न राजनीतिक दल तथा नागरिक समाजले विरोध गरेका थिए। उनले सुरु गरेको ‘उज्यालो अभियान’ लाई उनी छिट्टै राजनीतिमा सक्रिय हुने सङ्केतको रूपमा हेरिएको छ।