कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आम नागरिक जोडिने गरी बिमा कार्यक्रमलाई अगाडि बढाउनुपर्ने बताएका छन्। 
आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सरकारले बिमा नीति बनाउन कानुन बनाउने र सुविधा पनि दिने तर जनता भने नजोडिने खालको स्थिति भएमा त्यसले राम्रो सन्देश नदिने बताएका हुन्। 
उनले भने, ‘राज्यले बिमा कम्पनीहरूलाई सुविधाहरू दिने नीति बनाइदिने तर सामान्य नागरिकले यसको सेवा नपाउने हो भने राम्रो हुँदैन। त्यसतर्फ ध्यान दिनुपर्छ।’ मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले पनि कोशी प्रदेशमा कस्तो खालको नीति बनाउने र कसरी अगाडि बढ्ने भन्ने विषयमा एउटा कार्यदल बनाएरै काम गर्ने बताए। 
‘चाँडै नै कार्यदल बनाउँछौं र त्यसका आधारमा काम गर्दछौँ,’ उनले भनेका छन्। 
बिमाका विविध पक्षहरूका बारेमा आम नागरिकलाई जानकारी दिनुपर्ने अहिलेको आवश्यकता रहेको चर्चा गर्दै कृषि, पशुधन र स्वास्थ्य उपचारको बिमामा ध्यान दिनुपर्नेमा जोड दिनुपर्ने बताए। 
बिमा कम्पनीहरूले बिमाको प्रक्रिया लम्ब्याउने र झन्झट दिने काम पनि रोक्नुपर्ने बताउँदै मुख्यमन्त्री कार्कीले बिमाको प्रक्रिया लम्ब्याएर झन्झट दिएर आम नागरिकलाई दुःख दिन नहुने धारणा राखे।  
नेपाल बिमा प्राधिकरणले आयोजना गरेको कोशी प्रदेश सरकारसँग बिमा सम्बन्धी छलफल कार्यक्रममा कोशी प्रदेश सरकारका मन्त्रीहरू र नेपाल बिमा प्राधिकरणका अध्यक्षलगायत कोशी प्रदेशका बिमा कम्पनीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।