ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ०८०/८१ को पुँजीगत खर्च भन्दा ०८१/०८२ मा पुँजीगत खर्च कम भएको बताएका छन्। उनले आगामी वर्ष पुँजीगत खर्चमा सुधार गर्दै जाने समेत बताए। 
ऐन बमोजिम यही असार १० गते ७ अर्ब ४७ करोड बजेट प्रस्तुत गरेको तर पास हुन बाँकी रहेको बताउँदै उनले ऐनमा व्यवस्थापन गरिएको समय सीमा भन्दा अगाडि नै यसलाई पास गराउने जानकारी दिए। 
पुँजीगत खर्च सोचेअनुसार गर्न नसक्नुमा केही व्यवहारिक कठिनाइ गरेको औँल्याउँदै उनले भने,‘ असारको १० गते ऐन बमोजिम ७ अर्ब ४७ करोडको बजेट प्रस्तुत गरेका छौँ। यो पास भइसकेको छैन। मलाई जहाँसम्म लाग्छ ऐनमा व्यवस्थापन गरिएको समय सीमा भन्दा अगाडि नै यसलाई पास गराउने छौँ। विगतको कुरा गर्दा आर्थिक वर्ष ०८१/०८२ मा खर्च लगभग ६५ प्रतिशत भयो कि भन्ने छ। तर त्यसमा चालु खर्च अलि बढी नै हुन्छ। लगभग ९० प्रतिशतको हाराहारीमा पुग्छ होला।’
०८०/८१ को पुँजीगत खर्च ८२ प्रतिशत रहेको र यस वर्ष भने कम भएको उनले बताए। ‘पुँजीगत खर्च कम हुनुमा धेरै मल्टिपल फ्याक्टस्हरु पनि छन्। सरकारले अन्तिम कालखण्डमा समानिकरण गर्दा अनुदान कम गरिदिएकाले धेरै अफठ्यारोमा पारिदिएको थियो। गत साल असोज १० र ११ गते परेको वर्षाले नि समस्यामा परेको थियो। ललितपुर महानगरपालिकाले जुन रफ्तारमा काम गरिरहेका थियौँ बिचमा अख्तियार पनि लागेको थियो। त्यसले पनि समस्या बनायो,’ उनले भने। 
विगतका वर्षमा बाढी पहिरो र प्राकृतिक विपत्ति जस्ता घटनाले पुँजीगत खर्च बढाउन सन सकेको बताउँदै उनले भने,‘पुँजीगत खर्चचाहिँ विगतको वर्षमा भन्दा यस वर्ष खासै होला जस्तो लागेको छैन। सबैभन्दा बढी असर परेको भनेको प्राकृतिक विपत्तिले नै हो। काम गर्ने सिलसिलामा त्यसलाई गणना गरिएन। प्रयास त धेरै नै गरेका हौँ।’
आर्थिक वर्ष ०८०/८१को कुरा गर्ने हो भने राजस्व सङ्कलन महानगरले प्रक्षेपण गरेको भन्दा ८ प्रतिशतले बढेको उनले बताए। यसलाई आगामी वर्ष थप सुधार गर्ने उनले प्रतिबद्धता जनाए।
‘यो वर्षको राजस्व सङ्कलन गत वर्षको जस्तो हुने देखिएन। भवन अभिलेखीकरण गरेर मनग्य राजस्व उठ्छ भन्ने ठम्याई थियो। तर अभिलेखीकरण गर्ने कुरामा कानुनको दफ–दफा अगिंकार गर्नुपर्ने रहेछ। त्यसको प्रक्रियामै समय लाग्यो। तर अब हामीले भवन अभिलेखीकरण कानुन ल्यायौँ। त्यसले पनि हाम्रो बजेट सक्यो। अब बर्खे अधिवेशनमा भवन अभिलेखिकरणको म्याद थप्ने छौँ र राजश्व सङ्कलनमा वृद्धि गर्नेछौँ,’ उनले भने। 
ललितपुर महानगरपालिकामा नयाँ पर्यटकीय स्थलहरूको विकास गर्ने सन्दर्भमा काम भइरहेको पनि उनले बताए। स्मार्ट सिटी बनाउने काम भने धेरै अघि बढेको उनको भनाइ थियो। 
‘ललितपुर महानगरपालिकामा नयाँ पर्यटकीय स्थलहरू बनाउने काम जारी छ। वातावरण सफा बनाउने गरी इभी सवारी साधनहरूलाई प्राथमिकता दिएका छौँ।  इन्टेलिजन ट्राफिक लाइट महानगरपालिका भित्र २५१ स्थान राख्न पर्छ  भन्ने हाम्रो अध्ययनको प्रतिवेदनमा रहेको छ। अहिले केही स्थानमा राखेका छौँ। यसले केही सहजीकरण भएको छ। त्यसैले हामी हौसिएका छौँ। आउँदो आर्थिक वर्षमा अधिकांश स्थानमा लाइट विस्तार गरिसक्ने छौँ। चक्रपथको ७।१ प्रतिशत सडकको केही भाग ललितपुर महानगपालिका भित्र पर्ने भएकाले त्यो भाग अलि अध्याँरो रहेको छ। दसैँसम्म काम सकिने गरी स्मार्ट बत्ती जडान गर्न लागेको छौँ’ उनले भने।