नेकपा एमालेका नेता एवम् प्रतिनिधिसभा सदस्य रघुवीर महासेठले कांग्रेस नेता बिमलेन्द्र निधिमाथि दर्जन बढी आरोप लगाएका छन्।
आइतबार जनकपुरधाममा पत्रकारसम्मेलनमार्फत महासेठले नेता निधिले जनकपुरधामको विकासमा अवरोध गरेको आरोप लगाए। 
जनकपुरधामको रिङ्ग रोड निर्माणदेखि डम्पिङ्ग साइट निर्माण जस्ता दर्जनौँ बढी विकास निर्माणका कार्यहरू नेता निधिकै कारणले अगाडि बढ्न नसकेको महासेठको आरोप छ। 
राजर्षि जनक विश्वविद्यालयको भवन निर्माणमा आफ्नो र आफ्नो पत्नी जुली महतोले अवरोध गरेको भन्दै शनिवार (हिजो) नेता निधिले जनकपुरधाममा पत्रकार सम्मेलन मार्फत जानकारी दिएका थिए। 
सो कुराको नेता महासेठले खण्डन गरेका छन्। उनले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष जतिसक्दो निर्माण कार्य अगाडि बढाउन छलफल समेत गरेको जानकारी दिए। राजर्षि जनक विश्वविद्यालयको भवन निर्माणमा आफ्नो र आफ्नो पार्टीको कुनै पनि आपत्ति नरहेको महासेठले बताए।
नेता निधिले आफ्नो व्यक्तिगत स्वार्थका लागि विभिन्न विकास निर्माणका कार्यहरूमा पटक पटक अवरोध सृजना गर्दै आएको एमाले नेता महासेठले आरोप लगाए।
महासेठले धनुषाको प्रहरी प्रशासनले पनि राम्ररी काम नगर्ने गरेको आरोप लगाएका छन्। पदीय दायित्वलाई बिर्सेर एक पक्षीय रूपमा मात्र काम गरिरहेको उनले बताए।