सभामुख देवराज घिमिरेले नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको योगदानबाट प्रेरणा लिएर नेपाली भाषालाई प्रगतिशील विश्व साहित्यको हिस्सा बनाउन अठोट लिनुपर्ने बताएका छन्।
आइतबार काठमाडौँमा भानुभक्त आचार्यको २१२ औँ जन्म जयन्तीको अवरमा भानुभक्तको पूर्ण कदको सालिकमा माल्यार्पण गर्दै उनले भानुभक्तको स्मृतिमा श्रद्धाञ्जली मात्र अर्पण नगरी उनको योगदानबाट प्रेरणा लिएर नेपाली भाषालाई प्रगतिशील विश्व साहित्यको हिस्सा बनाउने प्रण पनि लिनुपर्ने धारणा राखे।
उनले भने,‘संस्कृतमा रहेको सिमित धार्मिक ज्ञानलाई उहाँले आम जनताको भाषामा रूपान्तरण गरेर नेपाली साहित्यमा जनचेतनाको बिजारोपण गर्नुभएको थियो। नेपाली भाषा, संस्कृति, साहित्यलाई एक साझा सूत्रमा बाँध्ने महान् कार्य भानुभक्तबाट प्रारम्भ भएको थियो। उहाँको स्मृतिमा श्रद्धाञ्जली मात्र अर्पण गर्नुहुँदैन, योगदानबाट प्रेरणा लिएर नेपाली भाषालाई प्रगतिशील विश्व साहित्यको हिस्सा बनाउने प्रण पनि लिनुपर्छ।’
उनले भानुजयन्ती केवल जन्म जयन्ती नभई, नेपाली भाषाको गौरव गाउने एउटा महान् दिन भएको बताए। सभामुख घिमिरेले भानुजयन्ती भाषासँगको सम्बन्धको, संस्कृति र पहिचानको महान् चाड भएको भन्दै यसको महत्वलाई अझ गहिरो रूपमा बुझ्नुपर्ने बताए।
उनले भने, भानुजयन्ती केवल जन्म जयन्ती होइन, नेपाली भाषाको गौरव गाउने एउटा महान् दिन हो। भानुजयन्ती सबैभन्दा ठुलो चाड मानिन्छ किनकि त्यो चाड भाषासँगको सम्बन्धको,संस्कृति र पहिचानको महान् चाड हो। त्यसैले यसलाई आजको दिनमा यसको महत्वलाई अझ गहिरो रूपमा लिनुपर्छ।’