सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रधानमन्त्री केपी ओलीसम्म राजीनामा बुझाएका छन्।
मङ्गलवार घुस लेनदेनसम्बन्धी अडिओ प्रकरणमा मुछिएका मन्त्री गुप्ताले सामाजिक सञ्जालमार्फत आफूमाथि लागेका आरोप अनुसन्धानमा सहयोग पुगोस् भनी राजीनामा दिएको जानकारी दिएका छन्।
उनले कहिले काहीँ नखाएको विष पनि लाग्ने भन्दै अहिले आफू त्यसैको सिकार भएको बताएका छन्।
उनले लेखेका छन्,‘विगत केही दिन अघिदेखि निरन्तर मेरो नाम घुस डिलसँगै जोडेर प्रचारमा आएको कुरा सबैलाई विदितै छ। कहिले काहीँ नखाएको विष पनि लाग्दो रहेछ। म अहिले त्यसैको सिकार भए। अब लागेका आरोप अनुसन्धान गरी सत्यतथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर सम्माननीय प्रधानमन्त्री समक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजीनामा गरेको छु। प्रविधिको उच्चतम प्रयोगको सिकार अब अरू कोही पनि नबनुन् भन्ने अपेक्षा गर्दै आजसम्म विभिन्न रूपले आफूलाई सहयोग गर्नुहुनेहरुलाइ हार्दिक धन्यवाद व्यक्त गर्दछु। अब फेरि एक पटक देश र जनता प्रति थप जिम्मेवारी बोधका साथ पार्टीले दिएको जिम्मेवारी इमान र निष्ठाको साथ पुरा गर्ने प्रतिबद्धताको साथ जनताको घर दैलोमा आउने प्रण गर्दछु।’